Aamsanchar

हात काटिएको थियो त ? (योगमायाको परिचय )

Author Image
बुधवार, जेठ १४, २०७७

झापाको कनकाई नगरपालिका सुरुंगा बजार दक्षिणमा हात काटिएको ईतिहास  देखाईएको योगमायाको प्रतिमा ।

योगमाया न्यौपाने

वि.सं. १९२४ – वि.सं. १९९८०

पूर्वी नेपालको भोजपुरकी सामाजिक आन्दोलनकर्ता हुन्।

लोग्नेमान्छेले जति स्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसँग बिहे गर्दैमा ऊ समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण बेहोराले उनको मन रन्थनिएको थियो। त्यतिमात्र होइनस बाहुन पुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने र बाहुन स्त्रीले चाहिँ आफूखुसी बाहुनैसँगै बिहे गर्दा पनि जुनी भरि बिटुली हुनुपर्ने अवस्थाको उनले घोर भर्त्सना गरिन्। साथै बाहुन नारी तल्लो जातमा पुग्ने बित्तिकै उसले आफ्नो संस्कारबाट हात धुनुपर्ने स्थितिको पनि उनले विरोधै गरिन्।

माथी राखिएको तस्वीर झापा जिल्लाको मध्यभागमा रहेको धार्मिक क्षेत्रको नगर भनेर चिनिने कनकाई नगरपालिकामा स्थापना गरिएको  सामाजिक अभियन्ता, साहित्यकार गोगमायाको प्रतिमा हो । यस प्रतिममा गोगमायाको दुवैहात काटिएको देखाईएको छ । तर ईतिहास हेर्दा र पढदा गोगमायाको हातहरु काटिएको तथ्य प्रमाण कतै फेला परेको छैन । यो प्रतिमाले एक किसिमको अन्योलता सृजना गराई रहेको छ । ईतिहासलाई जीवन्त दिन स्थापना गरिएको कामले ईतिहासलाईनै तोडमोड गर्ने काम भएको छ । हेर्दा सबैलाई लाग्छ योगमायाको त हात काटिएको पो रहेछ । किन र कसरी काटियोको थियो ? भन्ने धेरै जिज्ञाषाहरु उत्पन्न गराई रहेको छ यस प्रतिमाले ।

योगमायाको बारेमा बुझेकाहरुलाई झन झस्काउने गर्छ । योगमायाका बारेमा कयौ किताव पढेपनि हातकाटिएको कुरा थाहाँ नपाएको  पो होकी, आफ्नो अध्ययन अधुरो रहेछ भनेर निरास बन्नु पर्ने बनाई रहेको छ ।

योगमायाको बारेमा जानेका बुझेकाहरुमा यो प्रतिमा देख्दा, निर्माण गर्न लगाउने र गर्ने प्रति वौधिकता र क्षमताको मुल्याङकन गर्दै, उनिहरुमा तर्क पैदा हुन्छ होला, किन यस्तो प्रतिमा बनाईयो । यसले दिने सन्देशलाई कसरी स्वीकार गर्ने ? पछिल्लो पुष्ताले के योगमायाको दुबै हात काटियो थियो भनेर जान्ने बुझने ? यस्तै अन्योलता बनाएको छ । यो पार्क हुदै दैनिक आवतजावत गर्नेको मन र दिमागमा के योगमायाको दुवैहात काटिएको थियो त ? भन्ने प्रश्न बारम्बार  उठने गर्छ । यस प्रस्नको जवाफ सम्बन्धित पक्षले दिने की ।

योगमायाको परिचय यतीले मात्र पुग्दैन, तथापी केही हदसम्म भए पनि बुझौ ।

योगमायाको जन्म संवत् १९२४ सालमा पूर्बी नेपालको भोजपुर जिल्लाको केहि बर्ष अघि मात्र घोषित नयाँ नगरपालिका–षडानन्द नगरपालिका–१, नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा भएको थियो। बाँचुन्जेल उनले समाजका विकृतिहरू चिर्न मै समय लगाइन्। त्यति बेलाको त्यो सत्य घटना पनि आज एकादेशको दन्त्यकथा झैँ मानिन्छ। समाजको त्यही कठोर शासन प्रति विद्रोहको चरम स्वरउराल्ने क्रममा उनले संवत् १९९८ असार २२ गते शनिबार आफ्ना अनन्य भक्तहरू समेतलाई समेटेर जलसमाधि लिएकी थिइन्।

योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक हुन्। बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न सक्थिन जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सकिन् र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सकिन् । योगमाया त्यतिबेला जन्मेकी थिइन् जुन बेला नारीले रजस्वला हुनुअगि नै वैवाहिक जीवनमा बाँधिनु पर्थ्यो । त्यसै अनुरूप योगमायालाई पाँचै वर्षमा उनका बुबा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाले कन्यादान गरेका थिए । त्यसबेला योगमाया न्यौपानेको बिहे रामहरि कोइरालासँग भएको थियो । तर यिनको बिहे भएको दुई वर्षमा यिनका पति स्वर्ग गए । सात वर्षीय योगमायाका लागि रामहरि कोइरालाको मरण कुनै पीडादायक विषयसूची पनि बन्न सकेन । त्यसैले उनी फेरि आफ्नै बालक्रीडामा नै मिसिन थालिन्।

दिन छिप्पिंदै जाँदायोगमाया माथि अनेक सामाजिक कुसंस्कारका वज्र ठोक्किन थाले। कतिसम्म भने तत्कालीन समाजबाट प्राप्त अपमान, घृणा र तिरस्कारका पीडाले उनको शरीर भरिन पुग्यो। अलच्छिनी र पोइटोकुवीको लाञ्छनाले रङ्गिदा नरङ्गिदै उनले सत्र वर्ष टेकिन्।
योगमायाले आफ्नो तरुनी मनको जोसलाई विवेकको होसले छेक्न, थाम्न र सम्हाल्न सकिनन्। वास्तवमा किशोरावस्थामा रन्थनिँदै जाँदा उनको शरीरले पनि प्रकृतिको वरदानलाई त्याग्न सकेन। त्यसैले गाउँको एउटा युवक प्रतिको आकर्षण उनको दिनचर्यामा अनुवाद हुन थाल्यो। अनि गाउँ कै प्रजापति डोटेल जैसी सँग भागेर उनी आसाम पुगिन्। यी दम्पतीबाट एउटी छोरी नैनकलाको पनि जन्म भयो।

केही वर्षपछि योगमायाले आफ्ना गाउँमा पुराण लाग्ने हल्ला सुनिन् । त्यसपछि डोटेल दम्पती छोरी च्यापेर पुराणस्थल पुगे । जनकलाल शर्माको जोसमनी सन्त परम्परा र नेपाली साहित्यु नामक ग्रन्थमा लेखिए अनुसार पुराणको प्रसङ्ग थियो । परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नु पर्छ । यत्तिकैमा पुराणको अर्को प्रसङ्ग आयो यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ ।

योगमायाले मन दिएर नै पुराणका सबै पाठ सुनिन् । पुराणको कथाले योगमायाको मन दस चिरा भयो । त्यसपछि उनले आफ्ना पति प्रजापति डोटेलसँग यसबारे छलफल गरिन् । अनि यिनीहरूले एक अर्कामा छुट्टिएर बस्ने निर्णय गरे । त्यसबेला योगमायाकी छोरी नैनकला चाहिँ योगमायासँगै बस्ने सहमति पनि भयो।

योगमायाले आफ्नो हृदयान्तरको विस्फोट पोख्न छाड्सिकेकी थिन् । त्यसैले उनले कविताका अक्षर प्रस्फुटन गर्न थालिन्। आमाका शब्द एक एक गमेर नैनकलाले आफ्नो मन मस्तिष्कको कम्प्युटरमा राख्ने गर्थिन् । वास्तवमा योगमाया जति कविता भन्थिन् नैनकला त्यति नै कण्ठाग्र पार्ने गर्थिन् । योगमाया र नैनकला दुवै निरक्षर थिए।

योगमाया स्वर्गद्वारी पनि पुगिन्। उनी स्वर्गद्वारी गएताका स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयले त्यहाँ प्रसिद्धि पाइसकेका रहेछन्। योगमाया पनि महाप्रभुका कृत्यबाट सुरुमा नै आल्हादित बनिन्। त्यही परिणतिले उनी पनि महाप्रभुका साथ सत्सङ्गमा समर्पित भइन्। योगमायाको आचरणले महाप्रभु पनि प्रसन्न बने । त्यसैले उनी चैतन्य महाप्रभुबाट दीक्षित पनि भइन् । अनेक साधना गरेर योगमायाले वर्षौं वर्ष गुफामा नै बसेर साधना गरिन्। जाडो दिनमा उनी आधा महिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर साधनारत पनि भइन्। गर्मी महिनामा धुनी जगाएर आगाका रापसँगै उनले आफ्नो साधना प्रधानकर्म पनि गरिन्। उनलाई न जाडो हुन्थ्यो न गर्मी हुन्थ्यो। वास्तवमा उनले एउटा विशेष ईश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन्। कतिसम्म भने कुनै कुनै बिरामीलाई उनी आवश्यकता अनुसार नाडी समाएर र झारफुक गरेरै ठीक पारिदिन्थिन्। सर्पले ठुङेर मरणासन्न मान्छेलाई पनि उनले झारफुक गरेकै भरमा निको पारिदिन्थिन्।

योगमाया एकातिर धार्मिक नसामा डुबेकी थिइन् भने अर्कातिर राणाशासनले जनमनमा आतङ्कित पारेको सामाजिक स्थितिबाट पनि उनी फुत्कन सकिनन्। सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयास, जनताले न्यायनिसाफ पाऊन् र शोषणरहित समाजको सृजना होस् आदि माग राख्तै योगमायाले सामाजिक परिर्वनका लागि सांस्कृतिक आन्दोलनको शङ्ख फुकिन्। उनी न्याय माग गर्दै पैदल हिँडेर काठमाडौंसम्म पनि आइन्।

त्यतिखेर योगमायाका मागहरू सम्वोधन हुने भनेर श्री ३ जुद्धशमशेरले उनलाई वचन पनि दिए। तर क्रमशः श्री ३ आनाकानी मै रुमल्लिन थाले। वास्तवमा योगमायाको सामाजिक समय सर्न्दर्भका जायज मागका कारण श्री ३ को मन बिचल्लित बनेको थियो । त्यसैले श्री ३ ले न्याय दिने देखावटी वचन दिई अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिने अभिप्रायले विभिन्न कदम चाले। तर श्री ३ हारे र योगमायाको जित भयो । त्यतिखेर उनले जुद्धशमशेरको बेलाका दरबारिया विद्वानहरूसँगको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन्। स्वर्गद्वारीका चैतन्य महाप्रभुको शिक्षा, दीक्षा र ज्ञान योगमायाको मन, मस्तिष्क र विवेकको ढुकुटीमा शक्तिको स्वरूप भएर बसेको थियो। त्यसैले उनलाई हराउने पण्डितहरू बिरलै पाइन्थे। त्यस बेलाको उनको प्रचण्ड बौद्धिक शक्ति देखेर जुद्धशमशेर तीन छक्कै परेका थिए।

योगमाया काठमाडौंबाट भोजपुर दिङ्लाको मझुवाबेंसी स्थित आफ्ना आश्रममा फर्केपछि झन् विद्रोही भइन्। त्यही विद्रोहको पराकाष्ठामा उनी कविता बोल्दै जान्थिन् र उनकी छोरी नैनकला आमाका ती शब्दकण्ठाग्र पार्दै जान्थिन्।

योगमाया दिङ्ला पुगेपछि उनी चैतन्य महाप्रभुको कर्तृत्व र व्यक्तित्वको प्रचारमा लागिन् । साथै दिङ्लामा चैतन्य महाप्रभु अभयानन्दले गरे झैँ विशाल यज्ञ गर्न उनी जुटिन्। उनी कठिन योग साधनामा लागिन् र धाराप्रवाह प्रवचन र कविता वाचन गर्न थालिन्। जनकलाल शर्माका अनुसार भोजपुरको दिङ्लामा १९९७ साल ५ मा ठूलो यज्ञको आयोजना भएको थियो र त्यहाँ श्रद्धालु समाजको खूबै भीड लागेको थियो। तर त्यो यज्ञ सदाको भन्दा भिन्न थियो। उनले त्यहाँ उपस्थित सबै चेला चेलीहरूलाई भनिन् अब भक्तहरूले बाँच्ने युग छैन। अतः यसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ। योगमायाको घोषणा अनुसार त्यसै बेला उनका दुई सय चालीस जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरे।

योगमायाका अग्नि समाधि सम्बन्धी घोषणा र यज्ञकुण्डमा ज्यान अर्पण गर्न जुर्मुराएका उनका अनुयायीका विषयले भोजपुर हल्लियो। त्यहाँबाट त्यो खबर धनकुटामा रहेका राणाका कारिन्दा माधव शमशेरका कानमा पनि पुग्यो। परिणामस्वरूप राणाका निर्देशन अनुसार सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमा लियो। साथै राणाका निर्देशनमा योगमायाका हातगोडामा नेल ठोकियो। अनि योगमाया लगायत उनका भक्त र अनुयायीहरूलाई सरासर जेल चलान गरियो। महिला जति तीन महिना जेलखानामा बसे भने पुरुषहरू चाहिँ साढे दुई वर्षम्म कैदी भए। त्यस काण्डले पण्डित प्रेमनारायण पनि अठार महिना जेलखाना मै कोचिए।

त्यसबखत राणाका सिपाहीको बन्देजका कारण योगमाया यज्ञकुण्डमा हाम फाल्न पाइनन्। त्यसपछि आफ्ना भक्तहरूलाई पछि लगाएर उनी अरुण पुगिन्। ज्ञानमणि नेपालका अनुसार योगमाया अरुण किनारा बाहिर मझुवाबेसीमा संवत् १९६६ तिर एक कुटी बाँधेर बस्न लागिन्। उनकी एउटी भाइ बुहारी गङ्गा न्यौपाने चाहिँ उनकी पक्का भक्त भइन् । यी गङ्गा प्रेमनारायण (योगमायाका भक्त) कै दिदी थिइन्। यी गङ्गा पनि योगमाया सँगै बस्थिन्। अरुण नदीको किनारामा उभिएर फेरि योगमाया बोलिन् हामीलाई अग्निप्रवेशमा सरकारले बाधा गर्याे। तर आजको दिन अग्निको अभावमा जल समाधि लिनु पनि उत्तिकै लाभदायी हुनेछ । अतः इच्छा हुनेले मेरो अनुकरण गर्नु । त्यसपछि योगमायाले उर्लंदोअरुणको भेलमा हाम फालिन् । उनका अनुयायीहरू पनि क्रमशः जलसमाधिमा सहभागी हुँदै गए। हुँदाहुँदै त्यस बेला जलसमाधि लिने नारी पुरुषको सङ्ख्या ६८ पुगिसकेको थियो। त्यसपछि त्यहाँ कतिले हाम फाले र कतिघर फर्के ? कसैले त्यसको तथ्याङ्क राख्न सकेन।

योगमायाको धार्मिक कार्यशैली नै आकर्षक थियो। उनी धुनी बालेर, रुद्राक्षको माला लगाएर, बिगुतको तीन धर्के टीका लगाएर र झाँक्रो फिजाएर आफ्नो आसनमा बस्थिन्। साथै उनका छेउमा पाँच छ फुट उचाइको त्रिशूल ठडयाइन्थ्यो। त्यहीँ बसेर उनी आँखा चिम्लेर धाराप्रवाह धार्मिक र सामाजिक प्रवचन दिन्थिन्। उनको साहस देखेर उनका सेवकहरू भक्तमा रूपान्तरित भए। हरे राम प्रभुका नाउँले परिचित स्वामी पं.प्रेमनारायणले चारैतिर डुलेर योगमायालाई औतारी शक्ति माताको नाउँले प्रचार गरे । स्वामी प्रेमनारायणले योगमायाका नालीबेली पूर्वी पहाडका रनबन र्पुयाए भने काठमाडौं उपत्यकामा पनि उनले योगमायाको यथेष्ट प्रचार गरे। त्यति मात्र होइनस योगमायाका भक्त चेलाहरू पं.कविप्रसाद गौतम र लोचननिधि तिवारीले पनि योगमायालाई शक्ति माताका रूपमा स्थापित गराए।

योगमायाले जीवनमा आफूप्रति खप्टिएका प्रत्येक वचनको स्मरण गरिरहिन्। उनले नारीप्रतिको भेदभावका विषयमा विरचित पुराणका कथाहरूको पनि खुलेर नै आलोचना गरिरहिन्। नारीलाई पशुवत् व्यवहार गरेरर चिएका धार्मिक कथाहरू योगमायाका भावनाका शत्रु थिए। लोग्नेमान्छेले जति स्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसँग बिहे गर्दैमा ऊ समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण बेहोराले उनको मन रन्थनिएको थियो। त्यतिमात्र होइनस बाहुन पुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने र बाहुन स्त्रीले चाहिँ आफूखुसी बाहुनैसँगै बिहे गर्दा पनि जुनी भरि बिटुली हुनुपर्ने अवस्थाको उनले घोर भर्त्सना गरिन्। साथै बाहुन नारी तल्लो जातमा पुग्ने बित्तिकै उसले आफ्नो संस्कारबाट हात धुनुपर्ने स्थितिको पनि उनले विरोधै गरिन्।

श्रोत :  नेपाली विकिपिडिया

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 546

प्रतिक्रिया (०)

सम्बन्धित खबर