Aamsanchar

आज कुकुर तिहार ( यस कारण कुकुरको पूजा गरिएको रहेछ )

Author Image
शनिवार, कार्तिक २९, २०७७

पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रित वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।

हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचीन खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।

ऋग्वेदमा स्पष्ट रूपमा ‘समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूको आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्गका प्रतिनिधिका रुपमा लिइन्छ । तन्त्र साधक निडर भगवान भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रुपमा उल्लेख गरिएको छ ।

यी त भए शास्त्रका कुरा तर आधुनिक युगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरी सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारिताको दृष्टान्त स्वरुप बनाइएको चलचित्र “हाछिको” आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् ।

आज यिनै कुकुरहरुको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने जनश्रुती छ । मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका छाठा कुकुरहरुलाई पनि माला पहिर्याइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाईदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरुप्रति समर्पित दिन हो ।

आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ । आज नरके चतुर्दशी पनि र आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काO{ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास छ । यसरी बत्ति बालेर बगाउने कार्यलाईं नरके बगाउने भनिन्छ।

आजभोली त कुकुरलाई अझ विशेष रौनक र चाखका साथ देश विदेशमा पाल्ने गरिन्छ । कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन् अनि अझ बिकसीत देश, शहरहरुमा कुकुरहरुलाई अत्यन्त शानदार रुपमा घरको अभिन्न सदस्यको झै राख्ने गरिन्छ । अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाकालागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ ।

नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् । यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् ।

मानव ब्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो ब्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप ब्यवहार पाँउछाै । यस पृथ्वीका हरेक जनावरहरुलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यहि ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितिकी तन्त्र का रुपमा हरेक प्राणिहरुको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर