Aamsanchar

फूल टिपेर दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना, छानबिन गर्न उड्डयन प्राधिकरणको तीन सदस्यीय समिति गठन

Author Image
शनिवार, मंसिर २७, २०७७


पोखरा ।
फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको पाइएको छ । नेपाल हवाई खेलकूद संस्था (एनएए)ले गरेको अध्ययनले दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष निकालेको छ । मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएको थियो भने यात्रु घाइते भएका थिए । घटनाबारे अध्ययन गर्न एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’  निष्कर्ष निकालेको छ ।

यो प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाइएको छ । यसैबीच दुर्घटनाबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको छ । एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहेको छानबिन समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ ।

प्राधिकरणले आठजना प्यारा पाइलटहरु नियम विपरीतको गतिविधिमा संलग्न भएको पत्र पनि एनएएमा पठाएको पराजुलीले जानकारी दिए । उनले भने, ‘प्राधिकरणले सुरक्षा विपरीत गतिविधिमा संलग्न भएका आठ प्यारा पाइलटको नामसमेत पठाएको छ, उहाँहरु प्राधिकरणमा उपस्थित भएर आफ्नो जवाफसमेत दिइसक्नुभएको छ ।’

रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर