Aamsanchar

झापा जिल्ला सहकारी संघले दियो सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्री

Author Image
आइतवार, जेठ २, २०७८

 भद्रपुर । तीव्र रुपमा फैलिइरहेको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिने गरेका सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी संघले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल र जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको टोलीले आज जिल्ला प्रशासन कार्यालय पुगेर तीनै अंगका सुरक्षाकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई हस्तान्तरण गरेको हो ।

त्यहाँ झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, नेपाली सेना चारआलीका प्रमुख सेनानी गौरवजंग थापा र सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डेको पनि उपस्थिति थियो ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै संक्षिप्त कार्यक्रमका बीच संघका अध्यक्ष गणेश ढकालले प्रजिअ तिमिल्सिनालाई सामग्री हस्तान्तरण गर्नुभयो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री सहयोग गरेको सचिव दंगालले जानकारी दिनुभयो ।

संघले १० हजार थान सर्जिकल मास्क, ६० थान पीपीइ सेट, ६ हजार सेट ग्लोब्स, एक हजार थान फेसशील्ड र १८०० लिटर सेनिटाइजर उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष गिरीले बताउनु् भयो ।
स्वास्थ्य सुरक्षा सामग्रीको अभाव हुने अवस्थामा पुगेको बेला संघले गरेको यो सहयोगले सुरक्षाकर्मीहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिएर काम गर्न निकै सहयोग पुग्ने भन्दै सहयोगका लागि संघलाई धन्यवाद दिए ।

अधिल्लो वर्ष देखिएको कोरोना भाइरसभन्दा अहिले फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरस बढी संक्रामक भएकोले सबैमा उत्तिकै जोखिम रहेको अवस्थामा सु्रक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री सहयोग गरिएको संघले जनाएको छ ।

झापा जिल्ला सहकारी संघले गत वर्ष पनि जिल्लाका प्रारम्भिक सहकारी संस्थाहरुको सहयोगमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाका कारण संकटमा परेका नागरिकहरुलाई राहतका लागि नगद सहयोग गरेको थियो भने झापाको कनकाईमा नागरिकस्तरबाट स्थापित पीसीआर परीक्षण ल्याबका लागि २५ लाखभन्दा बढी रकम जुटाएको थियो ।

संघले यसपटक कोरोना भाइरस संक्रमितहरुलाई न्युमोनिया हुने जोखिम अत्यधिक देखिएकोले संक्रमितहरुको एक्स–रे गर्न २५ लाख रुपैयाँ बराबरको अत्याधुनिक एक्स–रे मेशिन पनि ल्याउन लागेको अध्यक्ष ढकालले जानकारी दिनु भयो । सो मेशिन झापाकै एक अस्पताललाई हस्तान्तरण गरिने पनि उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)