Aamsanchar

प्रमुख प्रशासकीय अधिकृत  चापागाईको बुद्धशान्तिमा २२ महिना

Author Image
आइतवार, साउन ३, २०७८


झापा । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको आज सरुवा भएको छ ।

राष्ट्रिय सूचना आयोग काठमाडौंबाट वि।स। २०७६ असोज १३ गते सरुवा भई बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका चापागाईको गृह मन्त्रालय वा अन्र्तगत सरुवा/रमाना भएको हो ।

झापाको बुद्धशान्ति नै जन्मथलो भएका काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ का चापागाई बुद्धशान्तिमा हालसम्म सबैभन्दा बढी समय प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहने प्रमुख प्रशासकीय अधिकृत हुन् ।

उनको २०७७ पौष १० गते नै सरुवा भएपनि विकास निर्माण र कर्मचारी प्रशासनमा सुशासन कायम गरी सेवा प्रवाह जनमुखी र छिटोछरितो ढंगबाट सम्पन्न हुनेभएपछि जननिर्वाचित जनप्रतिनिधिहरुको विशेष अनुरोधमा आर्थिक वर्षका विकास निर्माणका सम्पूर्ण कार्यसम्पन्न भएपछि मात्र सरुवा भईजान अनुरोध भएपछि उनी आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म बुद्धशान्ति गाउँपालिका बसेका हुन् ।

आन्तरिक राजश्वमा वृद्धि

बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा इन्द्रप्रसाद चापागाई आएपछि बुद्धशान्ति गाउँपालिकाको आन्तरिक राजश्व वृद्धिमा महत्वपूर्ण टेवा पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा बुद्धशान्तिमा आन्तरिक राजश्व २ करोड २१ लाख ९५ हजार थियो भने उनले जिम्मेवारी सम्हाले पछि आर्थिक वर्ष २०७६/७७ मा २ करोड ६९ लाख ७२ हजार १८ रुपैँया राजश्व संकलन भएको छ भने आर्थिक वर्ष २०७७/७८ मा सो रकम थप वृद्धि भई ४ करोड ४२ लाख २० हजार १ सय २० पुगेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को भन्दा आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक राजश्व वृद्धि २ करोड २० लाख २४ हजार ६५ भएको छ । आर्थिक पक्षबाट यसलाई विश्लेषण गर्दा महत्वपूर्ण उपलब्धीका रुपमा हेरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम

बुद्धशान्ति गाउँपालिका सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा यस गाउँपालिकाका २ सय २३ परिवारले प्रति घर रु ५० हजारका दरले रकम पाएका छन् । नेपाल सरकारको योजना अन्र्तगत खरको छाना वा कच्ची छाना विस्तापित गर्ने योजना अनुरुप संविधानमा नै भएको व्यवस्था अनुरुप १ करोड ११ लाख ५० हजार रुपैँया गत आर्थिक वर्षमा यहाँका विपन्न नागरिकले पाएका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले जानकारी दिएका छन् ।
जस अन्र्तगत बुद्धशान्ति १ का ३०, २ का ३०, ३ का ३३, ४ का ५९, ५ का २८, ६ का २१ र ७ नम्बर वडाका २२ परिवारले सुविधा पाएका हुन् । सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत बुद्धशान्ति गाउँपालिकाका लागि चालू आर्थिक वर्षका लागि ८४ लाख रुपैँया प्राप्त भईसकेको छ भने थप बजेट प्राप्त हुने चापागाईले जानकारी दिएका छन् ।

९.४७ किलो मिटर सडक कालोपत्रे, चालू आवमा साढे ४ करोड विनियोजन

बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको अवधारणा अनुसार बुद्धशान्ति गाउँपालिकामा दिगो र भरपर्दो विकास निर्माणका निम्ति विकासको निरन्तरतामा क्रमभङ्गता हुँदै बुद्धशान्ति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, सम्पूर्ण जनप्रतिनिधि सहित कार्यपालिकाको योजना, समन्वय तथा सहयोगमा आर्थिक वर्ष २०७७/७८ मा यस गाउँपालिकामा ६ करोड ५८ लाख २४ हजार ७ सय ५६ रुपैँयामा ९.४७ किलोमिटर सडक कालोपत्रे भएको छ । जस्लाई आम नागरिकले महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छन् ।

सडक कालोपत्रेलाई सबै वडाले महत्वपूर्ण कार्यका रुपमा लिएका छन् । चालू आर्थिक वर्षमा पनि ४ करोड ५२ लाख रुपैँया सडक कालोपत्रेका लागि रकम विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताएका छन् ।

२ सय १४ जनाले पाए रोजगारी

नेपाल सरकारको कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बुद्धशान्तिमा २ सय १४ जनाले गत आर्थिक वर्षमा रोजगारी पाएका छन् । बुद्धशान्तिका बेरोजगार मध्ये सूचिकृत वेरोजगार ५ सय ८० मध्ये गत आर्थिक वर्षमा २ सय १४ जनाले औषत ८३.५७ दिन रोजगारी पाएका चापागाईले जानकारी दिएका छन् । जसका लागि ९२ लाख ४६ हजार २८ रुपैँया खर्च भएको छ । सो कार्यक्रममा ५ लाख ४७ हजार ९ सय ७२ रुपैँया भने खर्च हुन नसकेर फ्रिज भएको छ ।

चुस्त कर्मचारी प्रशासन

२२ महिना बुद्धशान्तिमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका चापागाईले आफूले कार्यभार सम्हाल्दा कर्मचारी प्रशासन चुस्त, जनमुखी बनाइएको दावी गरेका छन् ।

उनले भने ‘सेवाग्राहीलाई छिटो र भरपर्दो सेवा दिने कुरामा कम्प्रोमाइज गरिएन, सेवा लिनकै लागि लाईन बसिरहनु पर्ने अवस्था कहिले पनि आउन दिइएन ।’ उनले सेवाग्राहिलाई छिटो र जनमुखी सेवा प्रदान गर्न सहयोग गर्ने सबै कर्मचारीलाई धन्यवाद पनि व्यक्त गरेका छन् । साथै उनले आफ्नो २२ महिने अवधिमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु सहित सम्पूर्ण जनप्रतिनिधिबाट प्राप्त सहयोग र साथलाई सदैव सम्मान सहित स्मरण गरिरहने बताएका छन् ।

भागिरथा बुद्धशान्ति अस्पताल निर्माण

स्वास्थ्य बिमा सहितको भागिरथा बुद्धशान्ति अस्पताल भाडामा रेडक्रस भवनमा सन्चालन भईरहेकोमा कुल प्रसाद नेउपाने र हरि नेउपाने परिवारबाट कुल १५ कठ्ठा जग्गा प्राप्त गरि बुद्दशान्ती -३ मा भागिरथा बुद्दशान्ती अस्पताल १० बेडमा सन्चालन हुने गरि नेपाल सरकारको नीति अनुरुप ठेक्का प्रकृया मार्फत निर्माण कार्य सम्पन्न हुने गरि रौताहा शान्ति जे भिसँग ठेक्का सम्झौता भइ असारमा काम सम्पन्न हुने गरि कार्य अगाडि बढाउन पनि चापागाईले जनप्रतिनिधिहरुको सहयोग समन्वयमा महत्त्वपूर्ण काम गरिएको बताए । ६ करोड ८ लाखमा अस्पताल निर्माण सम्झौता भएको हो । जग्गादातालाई उनले पनि उच्च सम्मान व्यक्त गरेका छन् ।

सडक कालोपत्रे भएपछि स्याबासी

स्थानीय होक्से भोटेटारका बासिन्दाले तत्काल निर्माण हुने कल्पनासम्म नगरेको आफ्नो छेउको सडक कालोपत्र भएपछि चापागाईंलाई स्याबासी दिनेको ओईरो छ ।

जयपुर भोटेटार (सहिद राम प्रधान मार्ग ) सडक आब ७७ र ७८ मा १ करोड समपूरक अनुदान र आगामी ७८ र ७९ मा ५० लाख उता टिमाई कृषि बजारमा एक करोड ५० लाख बिनियोजन भई महत्त्वपूर्ण काम हुँदै गरेको जसमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण कार्यपालिकाको सहयोगमा आफुले बजेट ल्याउन र काम गर्न सफल भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर