Aamsanchar

मेचीनगरमा साउन १३ गते मध्यरातबाट कडा निषेधाज्ञा हुने

Author Image
मङ्गलवार, साउन १२, २०७८

मेचीनगर।  झापाको मेचीनगर नगरपालिकाक्षेत्र साउन १३ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म निषेधाज्ञा (शिल) गरिने भएको छ ।  नगरक्षेत्रमा कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएपछि सोमबार बसेको मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरक्षेत्रलाई शिल गर्न कार्यपालिकालाई सिफारीस गरेको हो । समितिको सिफारीसका आधारमा मंगलबार मध्यान्ह बसेको कार्यपालिका वैठकले साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म शिल गनृे निर्णय गरेको निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

वैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निमित्त प्रमुख उप्रेतीले बन्दाबन्दीको अवधिमा अस्पताल, स्वास्थय चौकी, केन्द्र, एम्बुलेन्स, बारुणयन्त्र,सेवा बाट प्रदान हुने सेवा, औषधि पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन,विद्युत, टेलिफोन, खानेपानी इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु २४ सै घण्टा खुला रहने, दुध अण्डा, फलफूल तरकारीका पसलमात्र विहान ६ देखि ८ बजे २ घण्टासम्म खुला रहने जानकारी दिनुभयो ।

बैठकले बन्दाबन्दीको अनुमोदनका लागि जिल्ला प्शासन कार्यालय झापालाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, नेपाल सरकारले सञ्चालन गर्नका निम्ति तोकेका बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न गराउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, हाट बजार, मेला, जात्रा, महोत्सव पार्टी भोजलगायत भीडभाडमा हुने सवै खाले कार्य गर्न नगराउन समेत सवैमा आग्रह गरेको प्रेस संयोजक उप्रेतीले जानकारी दिनुभयो ।

कोभिड १९ को लक्षण देखिएमा वा त्यस्तै प्कारको कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजीकैको स्वास्थ्य संस्था वा नगरको आइसोलेशन सेन्टरमा सम्पर्क गर्न, कोभिड १९ विरुद्घको खोप सेवा सञ्चालनार्थ तोकिएका उमेर समुहका अशक्त सेवाग्राहीहरुले सवारी साधन प्रयोग गरी खोपकेन्द्र सम्म जानु परेमा उमेर खुल्ने कागजात र तोकिएका अन्य समुहका व्यक्ति वा फ्रन्टलाइन कर्मचारीको हकमा परिचय पत्र साथै बोकीमा आवतजावत गर्न, कक्षा ११ को पूर्वानिर्धारीत परीक्षा कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दुरी कायम गरी सञ्चालन गर्न, होटल, वैंक तथा सवैखाले वित्तिय संस्थाहरु पूर्णरुपमा बन्द गर्न गराउने, उद्योग कलकारखाना सञ्चालन सम्बन्धमा आवश्यक जनशक्तिहरुलाई उद्योग परिसर भित्रै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने गराउने समेतको निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयबाट बढ्दो कोभिड १९ संक्रमणको दरलाई मध्यनजर गदैं पीसीआर र एन्टीजेन परीक्षणको दायरा बढाउने, नगर कार्यपालिकाको कार्यालयबाट कोभिड १९ संग सम्बन्धित अत्यावश्यक सुरक्षा सामग्री तथा औषधि खरीद प्रक्रिया अगाडी बढाउने, मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा र मातहतका कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सवै सेवाहरु बन्द गर्ने र बन्दाबन्दीको प्रभावकारी अनुगमन तथा कार्यान्वयनका लागि नगरस्थित सवै सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको निमित्त नगरप्रमुख उप्रेतीको भनाई छ । नगरपालिकाले जारी गरेको बन्दाबन्दीको पालना नगरेको पाईएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।

कोभिड १९ संक्रमणका कारण उत्पन्न यस विषम परिस्थितिमा मेचीनगर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयले जारी गरेको यस बन्दाबन्दीको पालना प्रति सवै नगरवासी, राजनैतिक दल, नागरिक समाज, पत्रकार, उद्योग बाणिज्य महास.घ,, निर्माण व्यवसायी महासघ, रेडक्रसलगयात सवै संघ संस्थाहरुबाट ऐक्यवद्घता जाहेर गरी बन्दाबन्दी पूर्ण पालनामा योगदान पुर्याउने कुरामा नगरपालिकाले विश्वास लिईएको छ ।

पत्रकार सम्मेलनमा यसपटकको बन्दाबन्दी यस अघिकोभन्दा निक्कै कडाई हुने भएकाले स्थानीय प्रशासन कार्यान्वयन गराउन लाग्ने र प्रभावकारीरुपमा कार्यान्वयन गराउने प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहालले जानकारी दिनुभयो । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने जिम्मा स्थानीय प्रशासनको हुने भएकाले निर्णय कार्यान्वयनमा प्रहरी लाग्ने र अनुगमन हुने उहाँले बताउनुभयो । यसको उल्लंघन गरेको पाइएमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष तथा कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन वराल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई लगायतको सहभागिता रहेको थियो ।

मेचीनगरमा दुईहजार बढीले लगाए खोप

झापाको मेचीनगरमा मंगलबार दुईहजार बढीले कोभिड १९ विरुद्घको भेरोसिल खोप लगाएका छन् । नगरपालिकाले साउन १२ र १३ गते ५५ वर्ष माथिका सवै नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाएको छ । सोहि अनुसार नगरका विभिन्न स्वास्थ्य केन्द्रबाट २ हजार ३ सय ६० जनाले खोप लगाएको नगरपालिकाले जनाएको छ ।

सवैभन्दा बढी धुलावारी केन्द्रबाट ६ सय ३७ जनाले खोप लिएका छन् । बाहुनडाँगीबाट ३ सय ७०, काँकरभिट्टाबाट ५ सय ७५, धाइजनबाट २ सय ४८, दुहागढीबाट २ सय ८० र ज्यामिरगढीबाट २ सय ५० जनाले कोभिड १९ विरुद्घको भेरोसिल खोप लिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार मेचीनगरका अहिलेम्म १३ महिला र २७ पुरुषगरी ४० जनाको कोभिड १९ कै कारण ज्यान गएको छ । नगरको तथ्याङ्ग अनुसार अहिले ३ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । तर, यो संख्या अझ उच्च रहेको अनुमान नगरपालिकाको छ । सवैभन्दा बढी मेचीनगरको १० नम्बर वडामा ८१ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर