Aamsanchar

नेपालका लागि स्वीस राजदुत एलीजावेथलाई अर्जुनधारामा स्वागत

Author Image
आइतवार, असोज १७, २०७८

स्वीस राजदुत एलीजावेथलाई मायाँको चिनो प्रदान गर्दै अर्जुनधारा नगरपािलकाका मेयर हरिकुमार राना (ढाकाटोपी) र कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल (सेतो कपडा) साथमा अर्जुनधाराका कार्यकारी प्रमुख अम्बिका प्रसाद चौलागाई (बुट्टेसर्ट) र कर्मचारी सौजन कटुवाल । फोटो : विनोद पाण्डे/आमसंचार

अर्जुनधारा । स्वीटजरल्यान्ड सरकारले अब गर्ने सहयोगहरु प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने नेपालका लागि स्वीस राजदुत एलीजावेथ वोन क्यापलरले बताएकी छन् ।

प्रदेश सरकार र स्थानीय सरकारहरुबिचको सहकार्यमा झापाको अर्जुनधारा नगरपालिकामा स्थापना हुने ‘एकीकृत विपद् व्यवस्थापन केन्द्र’ बारे जानकारी लिने उद्धेश्यले आइतबार नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजदुत क्यापलरले उक्त कुरा बताएकी हुन् ।

केन्द्र स्थापना गर्ने विषयमा हालसम्म भएका प्रयासहरुको प्रशंसा गर्दै उनले संविधानमा उल्लेखित तीनै तहको सरकारबिचको समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार गरिने विकास मात्र सफल हुने राजदुत क्यापलरले दावी गरेकी छिन् ।

उक्त कार्यक्रममा नगर प्रमुख हरिकुमार राना र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले संयुक्तरुपमा स्थापना हुने केन्द्रको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको कार्यपत्रमा केन्द्रको अवधारणा र औचित्य, रणनीतिक साझेदारीको पृष्ठभूमि, समझदारी पत्रको मुख्य विषयहरु, हालसम्मको कार्य प्रगति, निर्माण गरिने संरचनाको साइटप्लान, कार्ययोजनालगायतको बुँदाहरु समेटिएका छन् ।

केन्द्रसँगै फोहोर मैला व्यवस्थापन, कृषिजन्य वस्तु उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरण, अपाङ्गता पुनस्थापना केन्द्र, पर्यावरणीय पर्यापर्यटन प्रबद्र्धन केन्द्र, आदिवासी जनजातिहरुको परम्परागत संस्कार संस्कृतिको संरक्षण तथा सम्बद्र्धनलगायतका विषयमा पनि उक्त टोलीलाई जानकारी गराइएको थियो ।
कार्यपत्र प्रस्तुतपश्चात् आयोजित छलफल कार्यक्रममा स्थानीय सरकारले गरेको विकासको कामहरुको विषयमा नेतृत्वको धारणा, प्राविद्यिक शिक्षालगायतको विषयमा पनि राजदुत क्यापलरले जानकारी लिएकी थिइन् ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेकपा एमाले नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखाका अधिकृत देवराज भट्टराई, बिर्तामोड नगरपालिकाका अधिकृत जय तिम्सिना, बुद्धशान्ति गाँउपालिकाका अधिकृत मदन कँडेललगायतको सहभागिता रहेको थियो ।

के हो ‘एकीकृत विपद् व्यवस्थापन केन्द्र’ ?
प्रदेश सरकार र स्थानीय सरकारहरुबीच सहकार्य गरि विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने रणनीतिक साझेदारी हो । जस अन्र्तगत प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र झापाका चार वटा स्थानीय सरकारहरु अर्जुनधारा, कनकाई, बिर्तामोड र बुद्धशान्तिबिच गत जुन २ तारिखमा अर्जुनधारामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने पक्षहरु, समझदारीको विषय, न्यूनतम पूर्वाधार, प्रदेश सरकारको जिम्मेवारी र स्थानीय सरकारको जिम्मेवारीहरु गरी पाँच वटा बुँदा उल्लेख गरिएको छ । न्यूनतम पूर्वाधारको बुँदा अन्र्तगत चार वटा दमकल राख्ने सेड, शववाहनलगायत चार वटा सम्म साना वाहन राख्ने सेड, दमकल र साना वाहन मर्मत गर्ने कार्यशाला, पानी जम्मा गर्ने रिर्जभोयर, विपद् सामग्री भण्डारण गर्ने गोदाम, प्रहरी तथा कामदार र कर्मचारीहरु बस्ने घर, हेली प्याड् निर्माण गरिने उल्लेख गरिएको छ ।

हाल केन्द्र स्थापनाको लागि अर्जुनधारा–१स्थित मदनपुरमा आवश्यक जमिनको व्यवस्थापन गरि जिओटेक सर्वे र डीपीआर निर्माणको कार्य भइरहेको छ । यस अघि अर्जुनधारा–११ स्थिन देउनीयामा केन्द्र स्थापना गर्न जीओटेक सर्वेको कार्य भइरहँदा उक्त जमिनमा भोगचलन दावी विवाद देखिएपछी केन्द्र स्थापना गर्ने कार्यलाई अर्जुनधारा–१ मा स्थानान्तरण गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 353

प्रतिक्रिया (०)

सम्बन्धित खबर