Aamsanchar

देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन उद्घाटन गरेर कानुनविपरीत काम गरेको ज्ञवालीकाे टिप्पणी

Author Image
आइतवार, मंसिर ५, २०७८

     

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरेर कानुनविपरीत काम गरेको टिप्पणी गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेका टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण प्रधानमन्त्री देउवालाई प्रश्न गरे।

आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चारमाध्यममा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुरा स्वागत गर्न नसकिने स्पष्ट पारे।

गत शुक्रबार योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जलि कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएका ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नाममा दुईवटा च्यानलको देउवाले उद्घाटन गरेका थिए।

ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ। उनले सो च्यानल नेपालको कानुनविपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रतिक्रिया दिए।

प्रवक्ता ज्ञवालीले भने, ‘सञ्चारमाध्यममा बाह्य लगानीलाई पूर्ण रूपले निषेध गरिएको छ। प्रधानमन्त्रीले बाह्य लगानीका टिभी च्यानल किन उद्घाटन गर्नुभयो? त्यो हामीले बुझेका छैनौं।’

बाह्य लगानीलाई के के सुविधा दिने/नदिने भन्ने निश्चित नियम भएको चर्चा गर्दै कसैको सस्तो लोकप्रियताका लागि नियम बाहिर जान नसकिने उनले स्पष्ट पारे।

नेपालमा विदेशी लगानी आउनु राम्रो भए पनि त्यो कानुनसम्मत‚ विधिसम्मत र पारदर्शी हुनुपर्नेमा उनले जोड दिए। कानुनविपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले त्यसरी आउने कुरा मान्य नहुने उनको कथन छ।

‘त्यसबारे सबै डिटेल आएपछि छलफल गर्छौं। जहाँसम्म नेपालको सञ्चार क्षेत्र हो। सञ्चारमाध्यमहरूमा बाह्य लगानी चाहिँ निषेध गरिएको व्यहोरा जानकारी गराउँछु’‚ ज्ञवालीले भने।

विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरूलाई नेतृत्वमा चयन गर्ने उनको भनाइ थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर