Aamsanchar

दुर्घटना बढेसँगै प्रदेश १ को राजधानी विराटनगरमा विद्यार्थीले चलाउने सवारीमाथि कडाइ

Author Image
बिहिवार, मंसिर ९, २०७८

ट्राफिक प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएका बिना लाइसेन्स विद्यार्थीले चलाएका मोटरसाइकल। तस्वीर – अन्नपूर्णपोस्ट डट् कमबाट

     

विराटनगर : सवारी दुर्घटना बढेसँगै प्रदेश १ को राजधानी विराटनगरमा विद्यार्थीले चलाउने सवारी साधनमाथि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ। विद्यार्थीले शैक्षिक पोसाकमा सवारी साधन हाँक्ने क्रम बढेपछि दुर्घटना रोक्नलाई ट्राफिक प्रहरीले चेकजाँच र कारबाही तीव्र पारेको हो। 

त्यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्रहरी नायव निरीक्षक (सइ) शिवकुमार शर्माको नेतृत्वमा विशेष टोली नै परिचालन गरेको छ। विद्यार्थीले सबैभन्दा बढी चलाउने सवारी साधनमा मोटरसाइकल पर्छ। 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) चन्द्रबहादुर खड्काले विद्यार्थीले कुदाउने सवारी साधनमाथि ठाउँठाउँमा निगरानी बढाएर कारबाही गर्न थालिएको जानकारी दिए। उनका अनुसार विशेष गरेर स्कुल तथा कलेज पढ्ने विद्यार्थीहरुले मोटरसाइकलको प्रयोग धेरै गर्ने गरेको पाइन्छ। तर उनीहरुसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नहुने गरेको खड्काले बताए। 

‘लाइन्सेन्स प्राप्त नगरेका विद्यार्थीले सैक्षिक पोसाक लगाएर व्यस्त सडकमा तीव्र गतिमा मोटरसाइकल चलाउने गरेको पाइन्छ। यो विद्यार्थीकै लागि जोखिम हो,’ उनले भने, ‘बिना लाइसेन्स सवारी चलाउनै पाइँदैन। तर बेवास्ता गर्दै विद्यार्थीले सवारी नियमको उल्लंघन धेरै गरिरहेका छन्।’ 

विराटनगरका क्याम्पस लगायतका अधिकांश शैक्षिक संस्थाले विद्यार्थीलाई सवारी साधन चलाउन रोक लगाएका छन्। विद्यार्थीले शैक्षिक संस्थाभित्र सवारी लैजान पनि पाउँदैनन्। तर पनि लुकिछिपी चलाउने गरेको पाइएपछि चेकजाँच बढाएर कडाइ गरिएको प्रनि खड्काको भनाइ छ। 

उनका अनुसार बिना लाइसेन्स सवारी चलाउने विद्यार्थीलाई नियन्त्रणमा लिएर ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने गरिएको छ। एक हजार पाँच सय रूपैयाँसम्म जरिवाना गरेर छाड्दै लाइसेन्स प्राप्त नगरिकन सवारी साधन नचलाउने प्रतिवद्धता जनाएपछि मात्र छाड्ने गरिएको जानकारी खड्काले दिए। उनले सम्बन्धित विद्यार्थीका अभिभावकलाई नै बोलाएर सम्झाईबुझाई पनि गर्ने गरिएको बताए। अन्नपूर्ण पोस्टबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर