Aamsanchar

विश्वमा बेरोजगारीको तथ्याकं र दक्ष युवाहरुको आवश्यक्ता

Author Image
शुक्रवार, असार ३१, २०७९

विश्व युवा दक्षता दिवसको पृष्ठभूमि
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरुपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।

यो दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने महत्त्वमा जोड दिन्छ। वर्ष २०२२ को युवा दक्षता दिवसले कोभिड महामारी पछि युवाहरुलाई चाहिने रोजगारीमुलक सीपहरुमा बिशेष जोड दिएको छ ।

वयस्कहरूभन्दा युवाहरू बेरोजगार रहने सम्भावना तीन गुणाले बढिरहेको तथ्यांकहरूले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरूले रोजगार पाइहालेमा पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरू बेरोजगार रहने सम्भावना झनै बढी छ । अनि पाएको रोजगारबाट उनीहरूले धेरै नै कम तलब पाउँछन् । अस्थायी काममै चित्त बुझाउने गर्छन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसमा हुन्छ । युवा–युवतीहरू छातीमा जोश र पाखुरामा बल हुँदा–हुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चूप लागेर लिन बाध्य छन् ।

विश्वमा बेरोजगारीको तथ्याकं र दक्ष युवाहरुको आवश्यक्ता
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१५ भएको देखाएको थियो । यो संख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आँकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अंक गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।

नेपालमा बेरोजगारी
नेपालको संविधान, २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ । साथै, चौधौं योजना ०७३/७४ देखि ०७५/७६ मा रोजगारी विकास कार्यक्रममा दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संशाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य र स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्धबेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने उद्देश्य राखिएको छ भने लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने एवं सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको उत्पादन गर्ने लेखिएको छ ।

तर, यसै क्रममा देशमा रोजागरी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने श्रमिक विदेशमा छन् । वैदेशिक रोजगारीमा जान बाध्य पारिएका मानिस विदेशमा काम गर्ने क्रममा व्यवसायजन्य सुरक्षाको ज्ञानको कमीले वा अभावमा कहिले कारखाना त कहिले घर निर्माणको क्षेत्रमा, सडकमा दुर्घटनामा पर्ने गर्छन् । यसबारेमा राज्यले ठोस कानुन ल्याउन सकेको छैन । स्वदेशमा रोजगारी नपाएर दैनिक करिब १५ सयभन्दा बढी युवा जनशक्ति बिदेसिने गरेका छन् ।

युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन, यो संरचनात्मक बेरोजगारीको समस्या हो । विश्वभरिको अध्ययन अनुसन्धान र पद्धतिले पनि यही देखाउँछ । कामदारहरूको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढेको हो । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरूको आवश्यकता बढ्दै गइरहेको छ । यही आवश्यकता पूर्तिका लागि विभिन्न उपभोग्य वस्तु तथा सेवाहरू समेत बढ्दै गइरहेका छन् ।

संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरूमा नकारात्मक प्रभाव पार्छ । यसले विश्व अर्थतन्त्रमा मात्र नभई समावेशी र समान समाज निर्माण गर्ने सन् २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । युवाहरूलाई सक्षम बनाउन उनीहरूको सीप विकास गर्नु प्राथमिक माध्यम हो । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरूलाई सीप र रोजगारीका अवसर प्रदान गर्ने मुख्य ध्येय राखेको छ । दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयस्कहरूमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ ।

नेपालमा युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै अनेक क्रियाकलाप तथा कार्यक्रम सञ्चालनमा नल्याएको पनि होइनन् । स्वरोजगारीका लागि ऋणमा सहजीकरण गर्नेदेखि, स्वरोजगारीका क्षेत्र पहिचान र सम्भाव्यता अध्ययनमा पनि कोषले ध्यान पुर्याउँदै आएको छ । तर, यसले आशातित लाभ दिन भने सकिरहेको छैन । यसको मुख्य कारण भनेको युवाहरूमा यस कार्यक्रमसम्बन्धी सूचना नपुग्नु र सीपयुक्त बेरोजगार युवा भनिएको ठाउँमा सीपयुक्त युवा बनिनसक्नु हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर