Aamsanchar

तेह्रथुममा सातामै ६२ जना डेंगुका बिरामी भेटिए

Author Image
बिहिवार, भदौ ९, २०७९

तेह्रथुम – म्याङलुङ नगरपालिका–१ का निर्मल दाहाललाई एक्कासि ज्वरो आयो । तीन दिनसम्म त घरमै सिटामोल खाए । तर ज्वरो घट्नुको सट्टा झन् बढ्यो । जँचाउन जिल्ला अस्पताल पुगेका उनलाई डेंगु भएको पुष्टि भयो । उनकी श्रीमतीलाई पनि डेंगु पुष्टि भएको छ । अहिले दुवै जना जिल्ला अस्पतालको बेडमा उपचाररत छन् ।डेंगुको असर दिमागमा समेत पर्छ भनेर चिकित्सकले बताएपछि उनी निकै चिन्तामा छन् । ‘पहाडमा डेंगु कसरी फैलियो, अचम्ममा छु,’ जिल्ला अस्पतालमा भेटिएका दाहालले भने । म्याङलुङ नगरपालिका–१० की ४५ वर्षीया रत्नमायाँ जिमी पनि नाबालाक नातीलाई डेंगु पुष्टि भएपछि अस्पतालको बेडमा बिरामी नातीको कुरुवा बसेकी छन् । ज्वरो आउने, बान्ता हुने, शरीर दुख्ने, रिँगटा चल्ने, पेट दुख्ने, आँखाका गेडी दुख्ने लगायतका स्वास्थ्य समस्या नातीमा देखिएपछि उपचारका लागि उनले नातीलाई अस्पताल भर्ना गराएको बताइन् ।यो साता जिल्ला अस्पतालमा ज्वरो आएर जँचाउन आएका ६२ जनामा जाँच गर्दा सबैमा डेंगु पोजेटिभ देखिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रेरित देवकोटाले बताए । ‘पहाडी जिल्लामा एक सातामा यतिका धेरै डेंगुका बिरामी देखा पर्नु निकै चिन्ताको विषय हो,’ डाक्टर देवकोटाले भने,‘गर्मी र तराई क्षेत्रमा हुने यो रोग कसरी पहाडका गाउँ बस्तीसम्म नै उक्लियो ? अध्ययनको विषय भएको छ ।’

समुद्री सतहबाट १ हजार ६ सय मिटरको उचाइमा रहेको सदरमुकाम र आसपासका गाउँबस्तीमै डेंगु देखिन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । अस्पतालमा डेंगुका बिरामीको संख्या दिन्दिनै बढेपछि स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसमेत आएर बिरामीको अवस्था बुझेर फर्किएका छन् । नियन्त्रणका उपायबारे अस्पतालका चिकित्सकसँग समेत मन्त्री खापुङले छलफल गरे । पहाडमा डेंगु सार्ने लामखुट्टेको संख्या र बासस्थान बढेको वा अन्तैबाट यातायातका साधनसँगै आइपुगेको हो भन्ने यकिन नभएको चिकित्सकको भनाइ छ ।

तराई–पहाड मान्छेको आवतजावतसँगै लामखुट्टे पनि विभिन्न सवारी साधन भएर आइपुगेको हुन सक्ने अनुमान चिकित्सकको छ । तराईबाट आएकाभन्दा पहाडमा घरमै बसिरहेकाहरुमा संक्रमण देखिएको डाक्टर देवकोटाको भनाइ छ । अस्पतालमा उपचारका लागि आउने गरेका अधिकांशमा डेंगुको लक्षण देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न नसकिए यो समस्या भयावह बन्न सक्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ । डेंगु फैलाउने लामखुट्टे मार्न विषादी छर्किने, झुल टाँगेर मात्र सुत्ने, चेतनामूलक कार्यक्रम गर्ने जस्ता कार्यक्रम तत्कालै सञ्चालन गर्नुपर्ने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर