Aamsanchar

फरेष्टएक्सन नेपालको काम प्रति दाता र उपभोक्ता खुसी 

Author Image
शुक्रवार, भदौ २४, २०७९

झापाको जलथल जङ्गलमा केन्द्रित रहेर जैविक विविधता, वन संरक्षणको क्षेत्रमा विगत तिन वर्ष देखि काम गर्दै आएको फरेष्टएक्सन नेपालले हाल सम्म गरेको कामको प्रगतिको समीक्षा र आगामी तिन वर्षका लागि थप कार्यक्रमहरू घोषणा गरेको छ ।

पूर्वी नेपालमै सबैभन्दा धेरै जैविक विविधता सम्पन्न जलथल जङ्गल रहेको फरेष्टएक्सनको अनुसन्धान रिर्पोट मा उल्लेख छ ।

जलथल जंगल लाई जैविक विविधता सम्पन्न पृथक जङ्गल रहेको फरेष्टएक्सनले बताएको छ ।
फरेष्टएक्सनले तिन बर्ष लगाएर वनस्पति र प्राणीको बारेमा गरेको विभिन्न अध्ययनहरू  बाहिर ल्याएको छ । फरेष्टएक्सनले जलथल जङ्गलमा अन्य जङ्गलमा भन्दा धेरै पाइने वनस्पतिहरू सूचीकृत गरेको छ । प्रजातिहरूमा ३७ प्रकारका उन्यू, ८१ प्रकारका घाँस, ४ प्रकारको पाम, १५० प्रकारका रूख, दुर्लभ वनस्पतिमा पर्ने साइकस १, १५४ प्रकारका झारपात, ५० प्रकारका लहरा र ७५ प्रकारका बुट्यानहरु जलथल जङ्गलमा रहेको बुलेटिनमा उल्लेख गरेको छ । त्यसैगरी प्राणी तर्फ २३० प्रकारका चरा, ४३ प्रकारका माछा, १५७ प्रकारका पुतली, २७ जातीका स्तनधारी, ३२ प्रकारका सरीसृप र १४ प्रकारका उभयचर रहेको छ ।

रातो सूचीमा रहेको ३२ प्रजातिका चरा, हात्ती, लाम्छे कछुवा, थाकल र अनौकाठ जलथल जङ्गलमा रहेको फरेष्टएक्सन नेपालका कार्यक्रम संयोजक डा। लिलानाथ शर्माले आफ्नो प्रस्तुती मार्फत बताएका छन् ।
१२ जना विज्ञ र १ सय जना स्थानीय हरुले २ सय दिन लगाएर गरेको अध्ययन अनुसन्धानबाट नेपालमा हाल सम्म अभिलेख नभएका ६ वटा प्रजातिका बिरुवा, अभिलेख भएका तर जलथलमा धेरै रहेको ४६ थरीका फलफूल, १ सय प्रकारका च्याउ त्यसमा १२ वटा खान मिल्ने, ६८ प्रकारका डाले खाँस, १७ प्रकारका खाने सागपात, ६ प्रजातिका तरुल, धागो बनाउने वनस्पतिहरू, ३५ प्रकारका जडीबुटी, १४ थरी धार्मिक आस्था राखिने रूख बिरुवा र मिचाहा लहरा खाएर झापा र मोरङमा ५ सय भन्दा धेरै पशुको मृत्यु भएको तथ्य फेला परेको डा। शर्माको भनाई रहेको छ ।

६ हजार १ सय हेक्टरमा फैलिएको जलथल जङ्गलमा २२ वटा सामुदायिक वनहरु रहेका छन् । ‘फरेष्टएक्सनले खासगरी कार्यक्रमका लागि कार्यक्रम मात्रको नभएर परिणाममुखी कामलाई महत्वको साथ कार्यन्वयन गर्दै आएको छ । जसमा वनको वृस्तित अध्ययन, विविधताको संरक्षण, मिचाहा प्रजातिको लहरा नियन्त्रणको सुरुवात र  स्थानीयको जिविको पार्जनको क्षेत्रमा काम गर्दै आएको छ । २ सय २८ वटा नमुना ब्लक बनाएर काम गरिएको छ । जलथल जङ्गल धेरै सम्भावनाको आधार भएपनि त्यहाँ धेरै चुनौतीहरू रहेका छन् । वनमा हुने आगलागी, घाँस दाउराको नाममा जथाभावी बिरुवा नष्ट गरिने काम, उपभोक्ताहरूमा जैविक विविधताको महत्वबारे जानकारी कम हुनु, प्याग्री, तिते, उल्टाकाडाँवनफाडा जस्ता वनमारा झार दिन प्रतिदिन फैलिदै जानु’ फरेष्टएक्सनकी फिल्ड अफिसर मुना भट्टराईको प्रस्तुतीमा उल्लेख गरिएको थियो ।

फरेष्टएक्सनले गत तिन वर्षमा स्थानीय सरकार र सामुदायिक वनहरु संगको सहकार्यमा प्रांगारिक मल उत्पादनमा सहयोग र प्रर्वद्धन, कृषि वन मार्फत उत्पादित अर्गानिक उत्पादनको प्रर्वद्धन, विपन्न मुखी कार्यक्रम, मिचाहा प्रजाति नियन्त्रण गर्नको लागि सहयोग, प्राकृतिक परापर्यटनको लागि जलथल जंगल लाई परिचित गराउदै आएको छ ।

फरेष्टएक्सन नेपालले अरु थप ३ वर्ष काम गर्ने भएको छ । आगामी ३ बर्षको लागि कार्ययोजना पनि तयार पारेको छ । वन पुनस्थापनालाई मुख्य कार्यक्रम बनाएको छ । जसमा ५ वटा सामुदायिक वनमा सर्बे, नक्साङकनलगायतको काम गर्ने भएको छ । त्यसैगरी प्राकृतिक वन पुनस्थापनार्थ २५ हजार बिरुवा हुर्काउले लक्ष्य राखेको छ । ५ सय हेक्टर झाँडी फडानी गर्ने, ५ हेक्टरमा डालेघास लगाउने र १ हजार परिवारलाई डालेघास वितरण गर्ने रहेको छ । प्राङगरिक मल परिक्षण र सुधार, बाख्रा पालन कार्यक्रम मार्फत २ सय परिवारलाई बाख्रा वितरण गर्ने, रैथाने विरुवालाई १५ हेक्टरमा रोपण गर्ने, ७५ जना स्थानिय युवाहरुलाई १० दिने वन सम्वन्धी तालिम प्रदान गर्ने, २० प्रजातिका २० हजार बिरुवा रोप्ने, रुखहरुको सचित्र पुस्तक जलथल विशेष प्रकाश गर्ने रहेको छ ।

कचनकल–३ दल्की स्थित त्रिवेणी सामुदायिक वनको सभाहलमा आयोजित जलथल जैविक विविधता, परिचय तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिलाप्रसाद राजवंशीले गरेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, पाथीभरा कालिका सामुदायिक वनका अध्यक्ष चिरञ्जिवी पौडेल, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठक, फरेष्टएक्सन नेपालका सहसंयोजक डा. अम्बिका गौतम, वनस्पती वैज्ञानिक डा. मार्कवाडसन, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलगायतले फरेष्टएक्सन नेपालले गरेको कामको प्रसंशा गरेका थिए । बोल्ने बक्ताहरुले अब वन जैविक विविधताको क्षेत्रमा फरेष्टएक्सन नेपाल संगको  सहकार्यलाई अझ प्रगाढ बनाउने प्रतिवद्धता जनाएका थिए ।

प्रमुख अतिथि गणेश पोखरेलले भने ‘जलथल जङ्गल संरक्षणको लागि यस बर्ष ४० लाख बजेट छुटिएको छ । उक्त बजेट विशेषगरी हात्तिको आक्रमणबाट नागरिकलाई जोगाउन फेन्सिङ तारवारमा खर्च हुने छ ।’
कार्यक्रममा जलथल जङ्गल संग जोडिएका चारवटा स्थानीय तहहरु भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधी र २२ वटा सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधी, सरोकारवाला लगायत गरी करिव ६० जना भन्दा धेरै को उपस्तिथी रहेको थियो ।

कार्यक्रममा स्वागत प्रेमबहादुर घिमिरे र सञ्चालन छत्र पौडेलले गरेका थिए । कार्यक्रममा फरेष्टएक्सनमा आवद्ध डा. नया शर्मा,  कर्मचारीहरु संयोजक डा. लिलानाथ शर्मा, सहसंयोजक डा. अम्बिका गौतम, वन विज्ञ डा. मार्कवाडसन, फेकोसफनबाट वेदप्रसाद भण्डारी, फिल्ड अफिसर मुना भट्टराई, रविन्द्र पुन मगर, टिकाराम वन , अविरल न्यौपाने र समुदायका सरोकारवाला बिच परिचयात्मक कार्यक्रम पनि भएको थियो ।
फरेष्टएक्सनले गरेको काम प्रति दाता संस्था र स्थानीय उपभोक्ता खुसी भएकाले तिन बर्षको लागि मात्र आएको प्रोजेक्ट पुनः ३ बर्षको लागि थप भएको हो । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 386

प्रतिक्रिया (०)

सम्बन्धित खबर