Aamsanchar

राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसको लगातार तेस्रो जित

Author Image
शुक्रवार, कार्तिक १८, २०७९

काठमाडौँ । कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । यस बावजुत पनि पुलिसको सेमिफाइनल निश्चित नै भएको छैन ।

कप्तान देव खनालले ७४ रन बनाए पनि टस जितेको लुम्बिनी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४४।२ ओभरमै १ सय ८८ रनमा अलआउट भयो । देव आउट भएसँगै लुम्बिनीले अन्तिम ७ विकेट ५० रनमै गुमाएको थियो । देवले ८८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । देवले प्रज्वल थापासँग दोस्रो विकेटमा ६० र विशालविक्रम केसीसँग चौथो विकेटमा ५७ रनको साझेदारी गरेका थिए ।

प्रज्वलले ६३ बलमा २ चौकासहित २३ र विशालले ३८ बल खेलेर ३ चौका र १ छक्का प्रहारसहित ३० रन बनाए । दुर्गेश गुप्ता र मोहम्मद हुसैन समान ११ रनमा आउट भए । माथिल्लोक्रममा ओपनर आकाश त्रिपाठी शून्य र सन्दीप रजाली ७ र बसिर अहमद ५ रनमा आउट भए । दीपेन्द्रले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । करण केसी र सागर ढकालले २–२ तथा गुलशन झा र ललित राजवंशीले १–१ विकेट लिए ।

दीपेन्द्रले अविजित ४३ रन बनाएपछि पुलिसले ३७।१ ओभरमै १ सय ९२ रन बनायो । दीपेन्द्रले ६६ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर सुनील धमलाले २६ बलमा ४ चौका र २ छक्कासहित ३६, कुशल भुर्तेलले ४१ बलमा २ चौकासहित ३२, अमित श्रेष्ठले ३५ बलमा ५ चौकासहित २८ र आरिफ शेखले ५१ बलमा ५ चौकासहित ३५ रन बनाए । दीलिप नाथ ६ रनमा अविजित रहे ।

अनिलको अर्धशतक

लामो समयदेखि उच्च प्रदर्शन गर्न नसकेका अनिल शाहले ६१ रन बनाएपछि मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । मधेसले आफ्नो पहिलो खेलमा प्रदेश १ लाई ७२ रनले हरायो । अनिलको प्रयासमा मधेस मूलपानी क्रिकेट मैदानमा २ सय १४ रन बनाउदै ४८।१ ओभरमा अलआउट भयो ।

अनिलले ८९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । विवेक यादवले ५४ बलमा २ चौका र १ छक्कासहित ३२, रोहन विकले ४९ बलमा ४ चौकासहित २८, हरिशंकर शाहले १५ रन बनाए । तल्लोक्रममा रुपेश सिंहले २५ बल खेल्दै ३ छक्कासहित ३० रन बनाएपछि मधेस प्रदेशको स्कोर २ सय रन नाघेको थियो । प्रदेश १ का फिर्दोश अन्सारीले ५ विकेट लिए । उनले ९।१ ओभरमा ३४ रन खर्चे । कप्तान सिद्धान्त लोहनीले ३ तथा श्रवण यादव र लव कामतले १–१ विकेट लिए ।

जवाफमा प्रदेश १ केवल ४३।१ ओभर खेल्दै १ सय ४२ रनमा अलआउट भयो । लवले २९, विवेकआनन्द मेहताले २५, फिर्दोशले २२, मिनाष थापाले १२, सोनु मण्डल र दीपक जोशीले समान ११ तथा सोनु अन्सारीले १० रन बनाए । मधेस प्रदेशका आदिल आलम, रुपेश सिंह, प्रदीप पासवान र विशाल सुस्लिङले २–२ तथा राजेश यादवले १–१ विकेट लिए । श्रोत : कान्तिपुर ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)