Aamsanchar

फुटबलमा आफ्नो प्रभाव जमाउने होडमा क्यानडा

Author Image
शनिवार, कार्तिक १९, २०७९

३६ वर्षपछि क्यानडाको फुटबल टोलीले फिफा विश्वकपमा खेल्न गइरहेको छ। दोस्रो पटक विश्वकप खेल्न गइरहेको क्यानडा अघिल्लो सहभागितामा भन्दा यसपटक सुधारको खोजीमा छ। सँगै उनीहरुको लक्ष्य हो : गोलपोस्टमा स्कोर।

यसअघि सन् १९८६ मा विश्वकप खेल्दा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो। त्यसबेला समूहमा फ्रान्स, हंगेरी र सोभियत युनियनसँग खेलेको क्यानडाले कुनै पनि गोल गर्न सकेन।

यसपाला क्यानडाले विश्वकपमा स्थान बनाउनु नै उसको ठूलो सफलता हो। यसको स्पष्ट संकेत भनेको क्यानडा अब ‘आइस हक्की’को मात्र शक्तिराष्ट्र रहेन, फुटबलमा पनि आफ्नो प्रभाव जमाउने होडमा लागिसकेको छ।

जर्मन बुङ्डेसलिगाको टिम बायर्न म्युनिखबाट खेल्ने युवा खेलाडी अल्फोन्जो डेभिसको कप्तानीमा रहेको क्यानडा कतार विश्वकपमा उत्रिने चर्चा छ। यसअघि अतिवा हुचिनसनको कप्तानीमा क्यानडा कतार विश्वकपमा छनोट हुने पहिलो उत्तर अमेरिकी मुलुक बनेको थियो।

क्यानडाको खेलमा सुधारको बावजुत कतारमा उनीहरुलाई नकआउट स्टेजमा पुग्न सहज भने हुनेछैन। क्यानडा यसपटक विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम, अघिल्लो विश्वकपको उपविजेता क्रोएसिया र अफ्रिकन छनोटमा अपराजित रहँदै विश्वकप आइपुगेको मोरोक्कोसँग समूह ‘एफ’मा छ।

क्यानडाका प्रशिक्षक जोर्डन हेर्डमन मान्छन् स् कतार विश्वकपको सहभागिताले २०२६ को विश्वकपको आधार बन्ने छ। जुन अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा हुनेछ।

‘हामी विश्वकपको जुनसुकै समूहमा परेको भएपनि खुशी हुने थियौं। किनभने यसपटक कतार गएर देशका लागि खेल्ने हो,’ हेर्डमनले विश्वकपको समूह ड्र पछि टीएसएन स्पोर्टससँग भनेका थिए, ‘हाम्रो खेलाडीले विश्वकपको अनुभव गर्दैछन्। तर म उनीहरुलाई त्यति सोचमै सीमित हुन दिन्न। हामी त्यहाँ अण्डरडगका रुपमा जानेछौं, हामी त्यहाँ कुनै भय बिना जानेछौं।’

विश्वकपका लागि क्यानडाको तयारीमा भने धेरै उताडचडाव आए। संघसँगको विवादका कारण क्यानडा र पानामाबिचको खेल प्रभावित भएको थियो भने इरानसँग खेल्ने भनिएको अर्को मैत्रीपूर्ण खेल पनि राजनीतिक कारणले स्थगित भएको थियो। प्रतिपक्षको विरोध र २०२० मा तेहरानमा विमान आक्रमण हुँदा निधन भएका क्यानेडियन परिवारका सदस्यहरुले विरोध गरेपछि इरानसँगको खेल रोकिएको थियो।

सन् २०२० मा ७२औँ वरीयताबाट २०२२ मा ४१औँ स्थानमा उक्लिएको क्यानडाले सेप्टेम्बरमा मैत्रीपूर्ण खेलमा कतारलाई २(० गोलले हराएको थियो भने १४औँ स्थानको उरुग्वेसँग २(० गोलअन्तरले पराजित भएको थियो।

विश्वकपको वार्मअप म्याचमा क्यानडाले नोभेम्बर १७ मा जापानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि विश्वकपको उद्घाटनको ६ दिनपछि बेल्जियमसँग समूह चरणको पहिलो खेल खेल्नेछ।

#रोयटर्समा प्रकाशित समाचारको भावानुवाद

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)