Aamsanchar

पाकिस्तान टी-२० विश्वकपकाे फाइनलमा

Author Image
बुधवार, कार्तिक २३, २०७९

टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले जितका लागि पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो।

निर्धारित २० ओभरमा पाकिस्तानले उक्त लक्ष्य ३ विकेट मात्र गुमाएर १९ ओभर १ बलमै पूरा गर्दै ७ विकेटले न्युजिल्याण्डलाई पराजित गरी फाइनल प्रवेश गर्‍यो।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमको शतकीय साझेदारीले जितको बलियो आधार बनायो। दुवैले अर्धशतक प्रहार गरे।

ट्रेन्ट बोल्टको बलमा फिलिप्सबाट क्याच आउट हुनुअघि रिजवानले ४२ बलमा ५ चौकाको सहायताले ५७ रन प्रहार गरे। बोल्टकै बलमा मिचेलबाट क्याच भएका कप्तान आजमले ४२ बलको सामना गरेर ७ चौका हान्दै ५३ व्यक्तिगत रन बनाए।

यसैगरि मोहम्मद ह्यारिसले २६ बलमा २ चौका र १ छक्काको सहायताले ३० रन बनाए। उनी सान्टनरको बलमा एलेनबाट क्याच आउट भए।

१९ औं ओभरमा तेस्रो विकेट गुमाउँदा पाकिस्तानलाई जितका लागि २ रन चाहिएको थियो। उसका लागि शान मसुदले २० औं ओभरको दोस्रो बलमा १ रन लिँदै जित सुनिश्चित गरे। पहिलो बल वाइड भएपछि १ अतिरिक्त रन पाकिस्तानले पाएको थियो। उनी ३ रनमा र इफ्तिखार अहमद शून्यको स्कोरमा अविजित रहे।

न्युजिल्याण्डका लागि बोल्टले २ र सान्टनरले १ विकेट हात पारे।

यसअघि टस जितेर किवी टोलीले पहिले ब्याटिङ गरेर १ सय ५२ रन बनाएको थियो। किवी टोलीले पहिलो ओभरको तेस्रो बलमै ओपनर फिन एलेनलाई पहिलो विकेटका रुपमा गुमायो। उनले जम्मा ३ बल खेलेर ४ रन मात्र बनाए। उनी शाहीन शाह अफ्रिदीको बलमा एलबिडब्ल्यू भए।

त्यसपछि अर्का ओपनर डेवोन कनवेले २० बलमा आक्रामक २१ रन बनाएपछि रनआउट भए। आफ्नै बलमा मोहम्मद नवाजले क्याच समात्नुअघि ग्लेन फिलिप्सले ८ बल खेलेर ६ रनमात्र बनाउन सके।

कप्तान केन विलियमसनले अफ्रिदीको बलमा बोल्ड हुनुअघि ४६ रन बनाए। यसका लागि ४२ बलको सामना गरेका उनले आफ्नो इनिङमा १ छक्का र १ चौका हिर्काए।

ड्यारिल मिचेलले ३५ बलमा अविजित रहँदै ५३ रन बनाए भने जेम्स निशमले पनि अविजित रहेर १६ रनको व्यक्तिगत स्कोर बनाए। मिचेलले आफ्नो इनिङमा ३ चौका र १ छक्का हिर्काए। १२ बलको सामना गरेका निशमले १ चौका प्रहार गरे।

४ रनमा पहिलो विकेट गुमाएको किवी टोलीले ३८ रनको स्कोरमा दोस्रो विकेट गुमाएको थियो। तेस्रो विकेटका रुपमा ग्लेन फिलिप्स आउट हुँदा न्युजिल्याण्डको कुल स्कोर ४९ रन थियो भने कुल स्कोर १ सय १७ रन हुँदा कप्तान विलियमसन आउट भएका थिए।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले २ विकेट लिए भने मोहम्मद नवाजको नाममा एक विकेट रह्यो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)