Aamsanchar

अर्जुनधारामा बेठी रोपाइँ, खुसीले नाचे बालबालिका देखि ज्येष्ठ नागरिक (फोटो फिचर सहित )

Author Image
शुक्रवार, असार १५, २०८०

चारपाने ।  ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज नेपालमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

झापाको अर्जुनधारा नगरपालिकाको आयोजना र अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको सह(आयोजनामा पनि आज असार १५ अर्थात राष्ट्रिय धान दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइएको हो ।
दिवस मनाउन अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मिलडाँडा स्थित बेठी लगाएर धान रोपाइ गरिएको छ ।

महिला समूहको नौमती बाजाको तालमा रौस्सिँदै, असारे गीतको भाका हाल्दै, जनप्रतिनिधि, सहकारीका प्रतिनिधि, कृषक र विद्यार्थीहरूले  रोपाइ गरेका थिए ।

अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रत्यूष आजाद राना, नगरपालिकाका कर्मचारीहरू, स्थानीय कृषक, राजनीति दलका नेताहरू र सूर्यज्योति बोडिङ्ग स्कुलका विद्यार्थीहरूले रमाइलो गर्दै रोपाइ गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले हिलोमा नाचेका थिए भने सँगिनी गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै हिले दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा बालबालिका, महिला र पुरुष समूहले अलग अलग भाग लिएका थिए ।

अर्जुनधारा नगरपालिकाको धेरैजसो भूगोल खेती योग्य कृषि क्षेत्रमा पर्दछ । अर्जुनधारा नगरपालिकाले यस वर्ष कृषि क्षेत्रको विकासको लागि प्राथमिकता दिदै बजेट बनाएको छ ।  विगतका वर्षहरूमा नगरपालिकाले उल्लेखनीय रुपमा कृषि क्षेत्रमा काम गर्न नसकेको स्वीकार गर्दै अब कृषकले गुनासो गर्नु नपर्ने गरिको काम गरिने नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए ।

नेपाली कृषकले घाटा नाफाको रुपमा नलिएर नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन धान खेती गर्नै पर्ने हुन्छ । यो बेला कुनैपनि खेत बाझो रहनु हुदैन, धान रोपियो भने मात्र सरकारको जीडीपी बढ्ने  नगर कृषि विकास शाखा प्रमुख उर्मिला राजवंशीको भनाई छ ।

अर्जुनधारा नगरपालिकामा पुरानो आँकडा अनुसार ६ हजार हेक्टर कृषि योग्य जमिन रहेको छ । अर्जुनधारा नगरमा धान पकेट क्षेत्र घोषणा गरिएको छ । अर्जुनधारामा धेरै कृषकहरूले रञ्जित जातको धान खेती गर्दै आएका छन् । यसको अलावा मन्सुली, बासमती कालो नुनियालयातको रैथाने धानबाली लगाइने गरेको छ ।

अर्जुनधारा नगरपालिकामा कृषि क्षेत्रको प्रर्वद्धन गर्नको लागि भनेर अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था क्रियाशील रहँदै आएको छ । धानको उत्पादन मात्र होइन नगरलाई बिउ विजमा पनि आत्मनिर्भर बनाउन सहकारीले काम गरिरहेको सहकारीका अध्यक्ष प्रत्यूष आजाद रानाको भनाई रहेको छ ।

अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको सक्रियता र नगरपालिकाको सहभागितामा वीज बिजन वृद्धिको काम भइरहेको छ भने गत वर्ष ९० टन धानको बिउ सञ्चय गरिएको थियो । लोकल प्रजातिको मकै करिव १५ टन बिउ नगरमा भण्डारण गरिएको छ । गहुँ, जैघास, तोरीको पनि वीज वृद्धि गरिएको छ । अर्जुनधारा नगरमा यस वर्ष २ लाख ५० हजार किलो धानको बिउ भण्डारण गर्ने लक्ष्य सहकारीले लिएको छ ।

अर्जुनधारामा कृषि उत्पादन व्यक्तिगत र व्यवस्थापन अनि बजारीकरण गर्ने काम सहकारीले गर्दै आएको छ । नगरपालिका तथा दात्री संस्थाबाट प्राप्त अनुदान सिधै कृषकले पाउने गरेका छन भने उत्पादन भएको कृषि उपजको समर्थन मूल्य कृषिक, नगरपालिका र सहकारीले संयुक्त रुपमा तोक्ने गरिएको छ ।

नगरपालिकाले कृषिको लागि ल्याएको योजनाबाट स्थानीय कृषकहरू व्यवसायी बन्न सक्ने आधार तयार हुँदै गएको छ ।  बिउँ, मल, कृषि औजार र सिँचाइका लागि उपकरण नगरपालिका र सकारीबाट प्राप्त हुन थालेको ले  खेती गर्न सहज हुन थालेको स्थानीय कृषकको भनाई रहेको छ ।

भिडियो पनि हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर