



बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रिय आठौं साधारणसभा सम्पन्न भएको छ । आज शनिवार बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित सभामा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
‘स्वाद अलैँचीको, मिठास नेपालको’ नारालाई अघि सारेर अलैँचीको खेती विकास र व्यवसाय प्रबर्द्धन गर्न २०६४ सालमा स्थापना भएको महासंघ हाल नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य हो ।
नेपाल अलैंची व्यवसायी महासंघमा हालसम्म १ हजार ५०० व्यवसायीहरू आवद्ध छन् ।

नेपाल अलैंची व्यवसायी महासङ्घको अधिकार र गतिविधिहरू विकेन्द्रित गर्ने नीतिअनुरूप अलैंची उत्पादन तथा कारोबार हुने जिल्लामा शाखाहरु विस्तार भएको छ । हालसम्म ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, गोरखा, लमजुङ, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, खोटाङ, नुवाकोट र कास्कीमा गरेर १५ वटा शाखा स्थापना भएको छ ।
महासंघले कम्तिमा ५० जना कृषक / व्यवसायीको सङ्गठित स्वरुप निर्माण गरेर विधानतः जिल्ला शाखा समिति गठन गरेको अध्यक्ष निर्मल भट्टराईको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार निकट भविष्यमा सोलुखुम्बु, रोल्पा, दैलेखलगायतका जिल्लाहरूमा अलैंची खेती विस्तार र शाखा कार्यालयहरू स्थापना गर्ने महासंघको लक्ष रहेको छ ।
अध्यक्षको प्रतिवेदन अनुसार नेपालमा अनुमानित १ लाख ५० हजार कृषकहरू अलैंची खेतीमा आवद्ध रहेका छन् । महासंघले अलैंची कृषकहरूको समस्यालाई सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई विभिन्न सुझाव दिने र सरकारी–गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी र निजी क्षेत्रका संघ–संस्थाका कार्यक्रममा सहभागी जनाउदै नेपाल सरकार समक्ष अलैंची उत्पादकदेखि निर्यातकर्तासम्मको समस्या हरूलाई सम्बोधन गर्न स्पष्ट राष्ट्रिय नीति निर्माणका लागि महासंघले जोडदार माग गर्दै आएको अध्यक्ष भट्टराईले बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई प्रतिवेदन वाचन गर्दै ।
नेपालमा वार्षिक करिव १७ हजार हेक्टर जमिनमा अलैंची खेती हुने गरेको छ । उत्पादनको आङ्कडा भने ५ हजार देखि ८ हजार मेट्रिक टनसम्म हुने गरेको छ । उत्पादनको ५ प्रतिशत अलैंची नेपालमा खपत हुने गरेको छ भने बाँकी सबै अलैंची भारत निर्यात हुनेगरेको छ । नेपालको अलैँचीलाई भारतीय अलैंची बनाएर भारतीय व्यवसायीहरूले तेस्रो मुलुकहरूमा निर्यात गर्ने गरेका छन् । अलैंची बाट प्रतिवर्ष ५ देखि १० अर्ब रुपैयाँ आम्दानी हुने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालको अलैंची गुणस्तर र उत्पादनको दृष्टिकोणले विश्व बजारमा पहिलो मानिन्छ । नेपाल सरकारले अलैँचीलाई ब्रान्डिङ गरेर सिधै तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण तयार पारिदिने हो भने हालको भन्दा दोब्बर आयआर्जन हुने निश्चित देखिएको छ ।
अलैँचीको खेती विकास र व्यवसाय प्रबर्द्धन गर्नको लागि थुप्रै चुनौतीहरू रहेको महासङ्घको ठहर छ । उल्लेख्य विदेशी मुद्रा नेपालमा भित्र्याउने कृषि बस्तु अलैंची भएपनि अलैँचीका लागि सरकारले छुट्टै नीति बनाउन नसक्नु, कृषकमा प्राविधिक ज्ञानको कमी, अलैंची सुकाउने आधुनिक भट्टीको अभाव, सिँचाइको पर्याप्त व्यवस्थापन नहुनु, मल बीउको अभाव, जिल्ला तथा केन्द्रमा अलैंची गोदामघर नहुनु, गैरकानुनी तथा दोहोरो कर संकलन गरिनु, मूल्यको उतारचढाव, भारत तथा भुटानमा तीब्र रुपमा अलैंची खेती विस्तार हुनु त्यसैगरी विश्व बजारमा नेपाली अलैँचीको आफ्नै पहुँच पुग्न नसकेर भारतीय बजारमा मात्र निर्यात निर्भर रहनु पर्नेलगायतका चुनौतीहरू रहेको महासंघको ठहर छ ।