Aamsanchar

किन हाम्रो समाज सतही र हलुका बन्दैछ ?

Author Image
आइतवार, असोज १४, २०८०

सूचना प्रविधिमा आएको क्रान्तिकारी परिवर्तनसँगै नेपाली समाज गहन अध्ययन विश्लेषण भन्दा भ्रमपूर्ण र प्रायोजित दुष्प्रचारको शिकार बन्दै गएको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत बिभिन्न प्रकृतिका झोले अनलाइनहरूले प्रायोजित रुपमा गरेको कुप्रचारबाट नेपाली समाज नराम्ररी बिटुलिएको छ । के सत्य हो र के होइन रु भन्ने कुराको भेद् खुट्यान, छुट्याउन नसक्दा, नजान्दा भ्रमपूर्ण सूचनाको प्रभावले दिग्भ्रमित हुँदैछ नेपाली समाज । समाजमा सकारात्मक सन्देश फैलाएर समृद्धिको यात्रामा साथ दिने भन्दा कुण्ठा, आक्रोश, बदला र हिंसाको मनोविज्ञान बढाएर धमिलो पानीमा माछा मार्ने उद्देश्यमा रहेको लोकतन्त्र विरोधी कुतत्त्व नै यस्तो कुकर्ममा संलग्न रहेको प्रष्ट हुन्छ ।

लोकतन्त्रमा सत्तामा रहनेले गरेका गलत कार्यको आलोचना हुनु स्वभाविक हो, तर समग्र लोकतान्त्रिक प्रणालीलाई दोष दिने र जनताको अपार सहभागिता र सङ्घर्षबाट स्थापित व्यवस्थाको विरोधमा जनतालाई भ्रमित, दिग्भ्रमित बनाएर अचेतन आक्रोशबाट स्वार्थको आगो फुक्न उद्धत लोकतन्त्र विरोधी प्रतिगामी, पुनरुत्थानवादी, राष्ट्रघातीहरूको कुप्रचारबाट जनतालाई वास्तविक कुरा बुझाएर लोकतन्त्रको संरक्षण गर्नु पनि देशभक्त स्वाभिमानी नेपाली नागरिक र राजनैतिक दलहरूकै कर्तव्य हो । यसका लागि राजनैतिक दलहरूमा जनताले पत्याउन सक्ने सदा जीवन, उच्च बिचार शैलीको नेतृत्वको विकास आजको अपरिहार्य आवश्यकता हो ।

राजनीतिमा मात्र होइन जनताको दैनिकी र व्यवहारिक जीवनमा पनि भ्रमपूर्ण सूचनाले अज्ञानताको प्रदूषण बढाइरहेको छ । सामाजिक सञ्जालमा आउने अनेक प्रकारका गलत सूचनालाई भेरिफाइ गर्न नसक्दा धेरै मानिस भ्रमलाई नै सत्य ठानेर, मानेर आधुनिकताको बन्दी बनि अन्धकारको युगमा फस्दैछन् । कुनै पनि कुरा सञ्जालमा आउनासाथ सबै सत्य नै हुन्छ भन्ने छैन । यसका लागि सार्वजनिक भएका, गरिएका सूचना, सन्देशहरू कति आधिकारिक हुन् भनेर जान्नका लागि आधिकारिक न्यूज पोर्टलहरुबाट क्रस चेक गर्नुपर्छ । यसो नगर्दा मानिस एकल सूचना वा भ्रमपूर्ण र गलत सूचनाको मारमा पर्दछ । अनि त्यही गलत सूचनालाई आधार मानेर दिने अभिव्यक्तिले मानिसको व्यक्तित्वलाई पनि घटाइरहेको हुन्छ । गलत र सही छुट्याउन नसक्नेहरूका बीचमा भ्रमको पण्डित्याइँ छाँट्न सकिएला, तर विज्ञ समूहका सामुन्नेमा त पर्दाफास भइहाल्छ । यस्तो अवस्थामा कि त जानाजान भ्रमको ब्यापार गर्नेहरूले समाजलाई गलत बाटोमा लाने योजनावद्ध दुष्प्रयास गरिरहेको थाहा हुन्छ । या कुरै नबुझी हल्लाको पछि दौड्ने नेपाली समाज भित्रको हावादारी जमात पनि यही सूचना प्रविधिको दुरुपयोग बढिहरेको छ भन्ने पुष्टि हुन्छ ।

भ्रमपूर्ण सूचनाले दिग्भ्रमित समाज

खुला अर्थनीति भएका सभ्य र भव्य देशहरूले सूचना प्रविधिको सही सदुपयोग गरेर मानव जीवनलाई थप सुविधा सम्पन्न बनाउँदै लगेका छन् । आइटिको दुरुपयोग गर्नेलाई कडा कारवाहीको दायरामा ल्याउने त्यहाँ ऐन, नियम, कानूनहरू छन् । तर, हाम्रोमा बैंकिङ कसुर सम्बन्धी एउटा कानूनको भरमा सूचना प्रविधिको दुरुपयोगलाई समेत हेर्नुपर्ने अवस्था छ । कुनै खास समूह वा गिरोहले आइटिकै प्रयोगबाट सर्वसाधारणलाई ठगी गरिरहेछ । बैंक खाताबाटै व्यक्ति सम्पत्ति ह्याक गरेर लैजाने, ठग्ने देखि गलत विज्ञापन गरेर आफ्नो नक्कली र कम गुणस्तरको सामानलाई सर्वश्रेष्ठ प्रचार गरेर जनता ठगीरहेछ । तर हाम्रो राज्यसत्ता कि त्यो गिरोहसँग कमिसनमा मिलेको छ । कि उसलाई यस्तो कुराको भेउ नै हुदैन । थाहै पाउदैन ।

सूचना प्रविधिको सही सदुपयोगले आजको मानव जीवनलाई धेरै सहज, सरल बनाएको छ । आइटिबाटै मानिसले अकल्पनीय प्रगति पनि गरेको छ । हाम्रोमा सबै जनताको सूचना प्रविधिमा सम्पूर्ण पहुँच छैन । जतिसँग छ, त्यो पनि राम्ररी सदुपयोग हुन सकेको छैन । प्रविधिको दुरुपयोगले समाजलाई गलत दिशामा लगिरहेको छ । कुनै घटना हुन्छ, कसैले दिन दहाडै हतियारको प्रयोग गरेर कसलाई घाइते बनाउदछ, हत्या गर्दछ, त्यसमा सकारात्मक र कानूनसम्मत तर्क वितर्क हुनु स्वभाविक हो । तर हिंसालाई प्रश्रय हुने, कानूलाई हातमा लिनुपर्ने मत पनि जाहेर हुन्छ र त्यही भाइरल (बढी प्रचार ) भइदिन्छ । अनि भर्खर किशोरावस्थामा रहेका सामाजिक सञ्जाल चलाउने सबैका छोराछोरीले के सिक्छन् रु प्रश्न जटिल छ । मानिसलाई नकारात्मक कुरालाई प्रचार गरेर आफू चर्चामा आउन सजिलो हुन्छ । तर त्यसले सिर्जना गर्ने भयावह अवस्थाको सामना गर्ने सामथ्र्य भने त्यो दुष्प्रचार गर्ने मान्छेसँग रहँदैन ।

हुँदा हुदा सरकारी निकायका साथै संघरसंस्था र राजनैतिक दलहरूले समेत आफ्नो प्रचारमा मिडियाका साथै सामाजिक सञ्जालको भर पर्नुपर्ने अवस्था बिकसित भएको छ । निश्चय पनि आधुनिकतासँगै बिकसित भएर आएका प्रविधिको सदुपयोग गरिनु राम्रो कुरा हो । तर, प्रविधिको दूरुपयोग गरी भ्रमपूर्ण, कपोलकल्पित र नक्कली बनावटी कुरा र त्यस्ता सामग्रीलाई प्रचारमा ल्याएर सत्य र यथार्थलाई छोप्ने जुन दुष्प्रयास भइरहेको छ नि, यसले समाजलाई अन्धकारको भड्खालोमा हाल्दै छ । त्यसैले क्षणी मनोरञ्जन वा कसैका प्रतिको पूर्वाग्रहका कारण गरिने कुप्रचारले समाजलाई सही दिशा दिन सक्दैन । यस्तो कुकर्ममा संलग्न मानिले आफले ढाँटेको कुराले आफ्ना परिवार, आफन्तहरूलाई पनि ढाँटिरहेको हुन्छ । उसको गलत सूचनाबाट दीक्षित उसको परिवार र समाज सही कुरो पहिल्याउन नसकेर कुहिरोको काग जस्तै दिशाविहीन भएर जिन्दगी बिताउनु पर्ने हुन्छ ।

प्रविधिको प्रयोगले एकांगी बन्दै समाज

पछिल्लो पुस्तासँगै तिनका अभिभावकसमेत सूचनाप्रविधि प्रयोगमा व्यस्त र अभ्यस्त रहँदा समुदायमा घुलमिल हुने, दुःख, सुखमा  सरसहयोग गर्ने, भेटघाट गर्ने, आफैं उपस्थित दुःख, खुसी साटासाट गर्ने क्रममा कमी आएको छ । मोबाइल, ल्यापटपमा गेम, सामाजिक सञ्जाल र युट्युबमा व्यस्त भैदिंदा नानी–बाबुहरुको पढाइ र शारीरिक स्वास्थ्यमा समेत असर गरिरहेको छ । घरभित्रै प्रविधिको दासी हुन पुगेपछि बिहान, बेलुकाको समयमा गरिने शारीरिक व्यायाम हुन नसक्दा यसले मानिसको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ ।  गहन अध्ययन, अनुसन्धानका लागि सूचनाको स्रोतको रुपमा प्रविधिको प्रयोग सहयोगी हुने भएपनि पठन संस्कृतिमा आएको ह्रासले फेसबुक, युटुव, लगायतका एपसहरुबाट मात्र खोजेको सम्पूर्ण कुराहरू प्राप्त हुन सक्दैनन् । गहन पुस्तकहरूको अध्ययन हुन नसक्दा यसबाट मानिसको अध्यनसिलतामा कमी ल्याउँछ ।

पहिलापहिला घरमा कोही पाहुना आयो भने हामीहरू उठेर नमस्कार, ढोग गरेर सत्कार गर्ने नार्दथ्यौँ । अहिलेको पुस्तालाई उहाँ हाम्रो फलाना नाताको हुनुहुन्छ, अभिवादन गर, भनेर नभनेसम्म सञ्जालमा झुम्मिएका भुराहरू केही वास्ता गर्दैनन् । एकपटक चिनाएको आफन्त, नातेदार वा साथीभाइलाई अर्को पटक भेट्दा चिन्दै चिन्दैनन् । फेरि ओई बिर्सियौ कि क्या हो ? उहाँ फलानो भनेर भन्नै पर्ने अवस्था छ । यो सबैको साझा समस्याको रुपमा घरघरमा बढिरहेको हुँदैछ । मानिसको दुःख, सुख, संस्कार, संस्कृति, जात्रा, पर्व, प्राकृतिक विपत्ति, आदिको विषयमा पनि अहिलेको पुस्ताले चासो लिइरहेको पाइदैन । हुन त यी कुराहरू इन्टरनेटको माध्यमबाट घरमै बसिबसी जानकारी लिन त सकिन्छ । तर आफ्नो वरिपरि छिमेकमा, देशमा भएका घटनाक्रमहरुका बारेमा चासो राख्ने, सम्भव भएसम्म स्वयम् उपस्थित भएर अवलोकन गर्ने समयलाई फेसबुक, ट्वीटर, इन्ट्राग्राम, भाइबर, इमो, विच्याट, युट्युब च्यानलहरूले खोसिदिएका छन् ।

प्रविधिको सही सदुपयोगले नयाँनयाँ कुराहरूको जानकारी लिन, बिभिन्न देश वा स्थानहरू ( जहाँ आफू पुगिएको छ, वा छैन ) का बारेमा हेर्न र बुझ्न मद्दत त गरेकै छ । तर यसको अधिक प्रयोगले उत्पादनसिल कार्यमा लगाउने मानिसको समय खोसिदिन्छ कि भन्ने चिन्ता पनि त्यतिकै छ ।  कार्यालय समय र कामको समयमा पनि सामाजिक सञ्जालमा व्यस्त भैदिंदा जनताको काममा बाधा त परेकै हुन्छ । कोही मानिस कसैकोमा पाहुना गयो वा आयो भने भलाकुसारी, सन्चो बिसन्चो, केटाकेटीको पढाई, लेखाई, घरव्यवहारको बारेमा सोधखोज गर्नुभन्दा पहिला वाइवाईको पासवर्ड लिने वा पासवर्ड स्क्यान गर्नुमै ध्यान केन्द्रित भएको पाउँदछौं । यसले हामीलाई प्रविधिको लत बसिसकेको छ । अर्थात हामी सामाजिक सञ्जालमा मात्र रमाउन थालेका छौं । बिजुली गयो भने वाइफाइ नचलेकामा चिन्ता हुन्छ, गर्मीमा पंखा नचलेको वास्ता हुन छोडेको छ । मानिसको दुःख, सुखमा सहभागी हुने भन्दा सबैजसो मानिसहरू प्रविधिको दासी भैदिंदा समाज एकलकाँटे र एकांगी हुँदै गएको छ ।

गलत सूचनाबाट बच्न के गर्ने   ?

गलत प्रचार गर्ने, अमर्यादित भाषाशैलीमा लेख्ने, टिकाटिप्पणी गर्ने, हिंसालाई प्रश्रय दिने गतिविधिमा संलग्न व्यक्ति, समूह वा निकायसँग सामाजिक सञ्जालमा नजोडिने । जोडिएको भए त्यस्तो थाहा पाएपछि त्यस्तालाई आफ्नो साथी ( फ्रेण्ड लिष्ट ) बाट हटाउने, ब्लक गर्ने । अरु आफ्ना राम्रा साथीहरूलाई पनि यो कुरो भन्ने, सूचना दिने र भ्रमपूर्ण सूचनाको शिकार हुनबाट जोगाउने । बिभिन्न स्वार्थ समुहले आफ्नो कुत्सित आकांक्षा पुरा गर्न अनेक प्रकारका भ्रमपूर्ण प्रचारबाजी गरेका हुनसक्छन् । त्यस्तो सूचना वा प्रचार सामग्रीलाई आधिकारिक हो कि होइन रु भनेर यकिन गर्न आधिकारिक न्यूज पोर्टलहरू खेलेर भेरिफाइ गर्नु पर्दछ । नानीबाबुहरूलाई गलत बाटोमा धकेल्ने प्रचार गर्ने साइटहरुमाथि राज्यले ऐन कानून बनाएर प्रतिबन्ध लगाउनु पर्छ ।

आफ्नो वा आफ्नो स्वार्थ समूहको फाइदाका लागि नियोजित रुपमा गलत प्रचार गर्नेले त त्यस्तो प्रचारको प्रभावका आधारमा फाइदा लिन्छन् नै, तर कुरै नबुझी गलत प्रचारको पक्षमा वकालत गर्नेहरूले बुज्रुक समाजका अघि लज्जित हुनु त पर्छ नै । अझ त्यस्तो गलत प्रचारले पारेका दूरगामी नकारात्मक असरको पीडाले हीनताबोध समेत गराउनेछ । यस्तो अवस्थामा कुरा नबुझी कसैको लहैलहैमा लागेर गलत सूचनाको कुप्रचारमा लाग्नेहरूको सामाजिक प्रतिष्ठा र विश्वसनीयता समाप्त हुनसक्छ । यसले मानिसको जीवनमा ठूलो समस्या खडा गर्नसक्छ । धन, सम्पत्ति गुमेको मान्छेले व्यापारिक वा व्यवसायिक क्षेत्रको विश्वास जितेर पुनः सम्पत्ति अर्जन गर्नसक्छ । तर विश्वास गुमेको मान्छेले फेरि विश्वास अर्जन गर्नसक्ने आधार नै समाप्त हुन्छ । विश्वास गुमाएको अबुझ मान्छेलाई कसैले भर गर्दैन र ऊ सँधै आफैं अभरमा पर्छ । बिना दर्ता सञ्चालनमा रहेका युटुव च्यानल, फेसबुक, इन्स्ट्रग्राम, ट्वीटर, इमो, भाइबर, वीच्याट, म्यासेन्जर, टिकटक आदि सामाजिक सञ्जालहरू न्यून शुल्क लिएर दर्ता प्रक्रियामा आएपछि मात्र सञ्चालन गर्न पाउने र न्यून शुल्क लिएर त्यसको वार्षिक नवीकरण गर्ने ब्यवस्था राज्यका तर्फबाट हुनुपर्छ । यसो भएको खण्डमा गलत प्रचार गर्ने, फेक (नक्कली) आइडी बनाएर मानिसलाई सताउनेहरु माथि राज्यका तर्फबाट निगरानी र नियन्त्रण गर्न सजिलो हुनेछ भने सरकारलाई पनि केही राजश्व रकम वृद्धि गर्न सहज हुनेछ । जसका कारण मानिसहरूलाई अनावश्यक दुःख दिएर सताउनेहरु हतोत्साही हुनेछन् र सर्वसाधारणले दुष्टमति भएकाहरूबाट पाउने सास्तीबाट मुक्ति पाउने थिए ।

३५ वर्ष पत्रकारिता क्षेत्रमा क्रियासित लेखक गुरागाँई जय लोकतन्त्र साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक, नेपाल पत्रकार महासंघ झापाको पूर्व सभापति, नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय सदस्य र झापा जिल्ला पूर्व अध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर