Aamsanchar

नेपालद्वारा जापानलाई ११६ रनको चुनौती

Author Image
आइतवार, मंसिर ३, २०८०

काठमाडौं – चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपालले जापानलाई ११६ रनको चुनौती पेश गरेको छ।

प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको खेलका लागि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो। नेपालका लागि ओपनर पूजा महतोले ४३ रन बनाइन्। क्याप्टेन इन्दू बर्मा १२ रन बनाएर आउट हुँदा रुविना क्षत्रीले २१ रन बनाइन्। सिता राना मगरका नाममा ५ रन रह्यो। रोमा थापा २२ रन बनाएर रनआउट हुन पुगिन्। रुविना र रोमा रनआउट हुन पुगे।

जापानकी अरिका टोक्ची र आयुमी फुजिकावा र आहिल्या चण्डेलको नाममा एक एक विकेट लिए।

हङकङमा कमजोर सावित भएका नेपाल र जापानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेका हुन्। नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो।

यसअघि समूह चरणको अन्तिम खेलमा हिजो नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो। पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो। जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो।​

आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन्। शनिबार भएको समूह चरणको अन्तिम खेलमा पनि यी दुई टिमले खेलेका थिए। उक्त खेलमा हङकङ १० विकेटले विजयी भएको थियो।

महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर