Aamsanchar

प्रतिबन्धमा परे ललितपुरका सहायक प्रशिक्षक सिलाकारल, इलामका कप्तान विकेश कुथुलाई १० हजार जरिवाना

Author Image
बिहिवार, पौष ५, २०८०

काठमाडौं –नेपाल सुपर लिग (एनएसएल)को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकार प्रतिबन्धमा परेका छन् ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै ललितपुरका सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलको दोस्रो संस्करणका आगामी सबै खेलका लागि प्रतिबन्ध गरिएको जनाएको छ ।

सिलाकारले पुस ३ गते स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्धको खेलमा रेफ्री सुरोजित दासमाथि हातपात र जातीय अपशब्द प्रयोग गरेका थिए । सोही कारण उनलाई आयोजकले तत्कालैदेखि लागु हुने गरी प्रतियोगिताको आगामी खेलबाट र एनएसएल सम्बन्धित सबै गतिविधिबाट प्रतिबन्ध लगाएको हो ।

एनएसईएमले उनलाई २० हजार जरिवाना गरेको छ । जरिवाना सिलाकारले व्यक्तिगतरूपमा तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, एनएसईएमले इलामका कप्तान विकेश कुथुलाई पनि एक खेलमा प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । विकेशले वीरगन्ज युनाइटेड एफसीसँगको खेलमा रेफ्रीमाथि आक्रोशित व्यवहार देखाएका थिए । विकेशले त्यसपछि रातो कार्डका कारण चितवन एफसीविरुद्ध खेल गुमाएका थिए ।

आयोजक एनएसईएमले दुवै घटना सम्बन्धमा थप अनुसन्धानका लागि एन्फको अनुशासन कमिटिलाई आग्रह पनि गरेको छ । यस्तै, आयोजकले प्रतियोगितामा उच्च खेलभावना राख्न सबै टिमलाई पत्राचार गरेको समेत जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर