शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘ चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो।
कार्यक्रममा प्रधानमन्त्रीले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएको र खेल क्षेत्रका पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिएको भन्दै खेलाडीहरूका निम्ति यो सुखद् कुरा भएको बताउनुभएको हो।
सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको कुरा तपाईँहरूले महसुस गर्नुभएकै होला। देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ।’’
आजको युगमा खेलकुदको बहुआयमिक महत्व भएकोमा प्रधानमन्त्रीले जोड दिँदै त्यसका निम्ति सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘आजको दुनियाँमा खेलकुदको महत्व बहुआयमिक छ। हाम्रो जस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्व रहन्छ। विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्दछन्।’’