Aamsanchar

छैटौँ झापा गोल्डकप फागुन १९ देखि, विजेताका लागि पुरस्कार रकम वृद्धि

Author Image
मङ्गलवार, माघ ९, २०८०

बिर्तामोड । झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ ।

आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार भेटघाट गरेर छैटौँ संस्करण बारे जानकारी दिएको हो ।

बिर्ताबजारको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।

त्यस्तै, मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

फायल फोटो : आमसंचार

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने बस्नेतले बताए ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताए ।

छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए ।

यो वर्ष पनि खेल सञ्चालन हुने रङ्गशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ ।

 मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता बन्न सफल भएको छ झापा गोल्डकप ।

पत्रकार भेटघाट कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)