Aamsanchar

विश्वकप क्रिकेट लिग–२ : नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित

Author Image
आइतवार, फागुन १३, २०८०

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ । योसँगै नेपालले घरमै भएको शृंखलाका चारमध्ये तीन खेलमा हारको खराब नतिजा आत्मसात् गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य डच टिमले ३७।५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले अविजित ५८ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ अर्धशतक बनाएका सिंहले ९२ बलमा सात चौका प्रहार गरे ।

७१–२ को अवस्थाबाट विक्रमजितले तेस्रो विकेटका निम्ति साइब्रान्ड एन्जेलब्रेटसँग १०२ रनको शतकीय साझेदारी गर्दै नेदरल्यान्ड्सलाई जितसम्म पुर्‍याएका थिए । सिंहसँगै अविजित रहेका एन्जेलब्रेटले ७५ बलमा तीन चौकासहित ४६ रन जोडे ।

त्यसअघि, पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ‘डाडले ८.४ ओभरमा ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । लेभिटले ३४ बलमा तीन चौका र चार छक्कासहित ३९ रन बनाए । अर्का ओपनर ओ‘डाडले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रन थपे ।

नेदरल्यान्ड्सविरुद्ध फितलो बनेका नेपाली बलरमध्ये ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । १० ओभर बलिङ गरेका ललितले ४२ रन खर्चिए । दीपेन्द्रले १० ओभरमा दुई मेडन राख्दै ३० रन दिए । अरू बलरको प्रदर्शन उल्लेख्य बन्न सकेन ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९।३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालबाट ओपनर कुशल भुर्तेलले ६६ रन बनाए । क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा अर्कोमा टिकेका भुर्तेलले धैर्यपूर्ण ब्याटिङ गर्दै ९३ बलमा आठ चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो आठौँ अर्धशतक हो ।

आसिफ शेखसँग ओपनिङ ब्याटिङमा आएका भुर्तेल सातौँ विकेटका रूपमा आउट भएका थिए । पहिलो विकेटका निम्ति शेखसँग ८.३ ओभरमा ४२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटर खुलेर खेल्न नसक्दा नेपाली टिम ठूलो योगफलसम्म पुग्न सकेन ।

नेपालको स्कोरबोर्डमा आसिफले २७ बलमा दुई चौका र एक छक्कासहित १७ रन थपे ।

शीर्ष र मध्यक्रम ‘फ्लप’ भए पनि अन्तिममा आरिफ शेख र करण केसीले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलसम्म पुगेको हो । ५० बल खेलेका आरिफले एक चौकासहित २२ रन बनाए । करणले २७ बलमा एक चौका र दुई छक्कासहित २६ रन थपे । कप्तान रोहितकुमार पौडेलले १६ रन थप्दा अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका भिभियन किंग्मा र आर्यन दत्तले समान तीन विकेट लिए । बास डे लिडेले दुई र रोइलोफ भान डेर मेर्वेले एक विकेट लिए ।

लिग–२ को पहिलो शृंखलामा खराब नतिजाको आत्मसात् गरेको नेपाल यसअघि नामिबियासँग सुरुआती खेलमा चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल पुनः नामिबियासँग दुई विकेटले पराजित भएको थियो ।

चार खेलबाट दुई अंकको नेपाल तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट तीन जितसहित ६ अंक जोडेको नामिबिया शीर्ष स्थानमा छ । चार खेलबाट दुई अंककै नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।लिग–२ २०२४–२७ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई)र अमेरिका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर