Aamsanchar

नेदरल्यान्ड्सद्वारा नामिबिया ५९ रनको फराकिलो अन्तरले पराजित

Author Image
बिहिवार, फागुन १७, २०८०

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको छ ।

नेदरल्यान्ड्सले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रनमात्र बनाउन सक्यो । नामिबियाका जान फ्राइलिन्क र जेन ग्रीनले समान ४२ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २ सय ४८ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले शतक बनाए । लेभिट ६२ बलमा १ सय ३५ रन बनाएर आउट भए । यस्तै साइब्रान्ड एन्गेलब्रेच्टले ७५ रन बनाए । लेभिट र एन्गेलब्रेच्टले दोस्रो विकेटका लागि १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरे । नामिबियाका रुबेन ट्रम्पेलमानले २ विकेट लिए ।

टी–२० क्रिकेटमा नेदरल्यान्ड्सले बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि सन् २०२१ मा नेदरल्यान्ड्सले नेपालसँगको खेलमा २ सय ९ रन बनाएको थियो । यस्तै त्रिवि क्रिकेट मैदानमा बनेको यो रन अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२१ मा नेपालले नेदरल्यान्डसँगको खेलमा २ सय ३८ रन बनाएको थियो ।

यो जितसँगै नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ । प्रतियोगितामा भोलि नेपाल र नामिबियाबीच खेल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर