![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/satu_sarbat_gyplCWwwI4.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सुरु गरौँ सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनका रूपमा रहेको छ । सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्त्व रहेको छ । माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।
आजको चिरञ्जीवी तिथि
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो भने महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाइन्छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
अक्षय तृतीयाको पौराणिक महत्त्व
पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईँ सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।
अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौँ । आज अक्षय पुण्य प्राप्त गर्नका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा
लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तर पुस्ता मायाका लागि पनि अत्यन्त महत्त्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ ।