Aamsanchar

माेरङमा नक्कली नोटले बोका किनेर अपरिचित दुई पुरुष फरार, महिला पक्राउ

Author Image
शुक्रवार, वैशाख २८, २०८१

विराटनगर – मोरङको रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा एकजना महिलालाई नक्कली नोट दिइ बोका (बाख्राका पाठा) लिएर अपरिचित पुरुषहरू फरार भएका छन् ।

बोका लिएर बिक्रीका लागि बजार पुगेकी महिलालाई झुक्याउँदै नक्कली नोट दिइ बोका लिएर दुईजना पुरुष मोटरसाइकलमा फरार भएका हुन् । प्रहरीका अनुसार फरार भएकाको पहिचान खुल्न बाँकी छ । दुवैजनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बोका किन्न भनी पुरुषको साथ लागेर गएकी एक महिलालाई भने प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनको साथबाट नेपाली नक्कली नोट बरामद भएको छ । खातुनको साथबाट नेपाली ५ सय दरका १८ वटा नोट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

 

उनका अनुसार रंगेली–९ की सुकुरमुनी सन्थाल सोरेनले घरमा पालेका बोका बिक्रीका लागि बिहीबार दोहमना बजारमा लगेकी थिइन् । उनले बिक्रीका लागि दुईवटा बोका र एउटा पाठी लगेकी थिइन् । ‘सोरेनसँग भेटेर दुईजना पुरुष र एक महिलाले बोकाको मोलतोल गर्न थालेछन् । सुरुमा दुईवटै बोका ७ हजार रूपैयाँमा दिनु भनेर ‘बार्गेनिङ’ गरेछन् ।

उनले थोरै मूल्यमा दिन सक्दिन भनेपछि मोलमोलाइका क्रममा १२ हजारमा कुरा मिलेछ,’डीएसपी बस्नेतले भने,´बोका खरिद गर्न आएकाहरू १२ हजार रूपैयाँ दिएर बोका लैजान तयार भएछन् । त्यसपछि एकजना पुरुषले एक हजार दरका ३ वटा र ५ सय दरका १८ वटा नोट दिएर दुईवटै बोकालाई मोटरसाइकको बीचमा राखेछन् । ५ सय दरका नोटमा शंका लागेपछि सोरेनले नै प्रहरीलाई खबर गरेकी हुन् ।’

बस्नेतका अनुसार सोरेनले सुरुमा नोट नक्कली रहेको शंका गरिन् । त्यसपछि ‘मेरा बोका फिर्ता दिनु, पैसा तपाईंहरु नै लैजानु’ भनिन् । तर, पहिचान नखुलेका पुरुषहरुले बोका बीचमा राखेर मोटरसाइकल हुइँक्याए । पक्राउ परेकी खातुनले गन्ने बहानामा सोरेनको हातबाट हतारहतार पैसा खोसिन् । त्यही बेला २ जना पुरुष बोका लिएर भागेपछि खातुनलाई केही व्यक्तिको सहयोगमा नियन्त्रणमा लिएर सोरेनले प्रहरीलाई खबर गरेको डीएसपी बस्नेत बताउँछन् ।

तत्काल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले खातुनलाई पक्राउ गरेको हो । उनको साथमा रहेको ५ सय दरका १८ वटा नोटसमेत प्रहरीले बरामद गर्‍यो । परीक्षण गराउँदा नोटहरू नक्कली रहेको र सबै नोटमा एउटै नम्बर उल्लेख गरेको पाइएको बस्नेतको भनाइ छ । उनका अनुसार विराटनगरस्थित राष्ट्र बैंकले समेत नोटहरु नक्कली रहेको जानकारी दिएको छ ।

खातुनको साथमा रहेका १ हजार दरका नोट भने सक्कली नै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोका बिक्री गरेर छोरीलाई साइकल किनिदिने योजना सोरेनको थियो । सोरेनका पति वैदेशिक रोजगारीका लागि दुवई गएका छन् । घरमा उनीसहित सासू, ससुरा, २ छोरा र १ जना छोरी छन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण घरमा पालेका बोका बेचेर छोरीलाई साइकल किनिदिन खोजेको पाइएको प्रहरीको भनाइ छ ।

नक्कली नोट दिइ बोका लिएर फरार भएका पुरुषहरू भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । खातुनले पनि उनीहरूलाई आफूले नचिन्ने र बोका किन्नलाई सहजीकरण गरिदिन आग्रह गरेका कारण सहयोग मात्रै गरेको प्रहरीलाई बताइकी छन् । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई उनैले भगाउन भूमिका खेलेको खुलेको छ ।

पुरुषलाई भगाएकी खातुन आफू पनि त्यहाँबाट भाग्ने तयारीमा रहेको दाबी प्रहरीको छ । तर, केही व्यक्तिहरुको सहयोगमा नियन्त्रणमा लिइएको र तत्काल प्रहरी पुगेका कारण उनी भने भाग्न नपाएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फरार भएका पुरुषसहित पक्राउ परेकी खानुतलाई कारबाही हुनुपर्ने र आफ्ना बोका फिर्ता गरिदिनुपर्ने माग राखेर सोरेनले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । खातुनविरुद्ध मुद्रा सम्बन्धी कसुरमा कारबाही अघि बढाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर