Aamsanchar

विराटनगरमा आयोजित श्रमाधान रोजगार मेलामा जागिरका लागि दुईहजार युवाको आवेदन

Author Image
शनिवार, जेठ १९, २०८१


विराटनगर – तीनै तहका सरकारको संयुक्त आयोजनामा कोसी प्रदेशको राजधान विराटनगरमा आयोजित दुईदिने श्रमाधान रोजगार मेला सम्पन्न भएको छ ।

बिहीबार तीनहजार र शुक्रबार दुई हजार गरी कुल पाँच हजारभन्दा धेरैले मेला अवलोकन गरेको जनाइएको छ । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब दुईहजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार ४९५ गरी दुई हजार ५३७ जना दक्ष कामदार माग गरेका थिए । मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने २५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।

मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सातवटा स्टल राखिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको थियो । त्यस्तै, श्रममन्त्री डोलप्रसाद अर्याल पनि सहभागी थिए । महासंघका कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउतले मेलाले रोजगारीको खोजीमा रहेका युवालाई उत्साहित बनाएको बताए ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोसी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रूपमा थिए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ वाग्मती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सह–आयोजकका रूपमा रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी)र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर