

उर्लाबारी- थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि किसानले मौरीपालन व्यवसाय रोज्न थालेका छन् । भारतलगायत तेस्रो देशबाट आउने सस्तो मूल्यको महसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पादक बजारको खोजीमा छन् । यतिबेला नेपाली किसानलाई मह काढ्न भ्याइनभ्याइ छ । उत्पादन सन्तोषजनक भए पनि बजारको अभाव रहेको किसानको गुनासो छ । मोरङको उर्लाबारी–४ का भोलाराज पोख्रेलले भन्नुभयो, “हाम्रो उत्पादन भारतलगायत देशबाट आउने महभन्दा महँगो पर्छ । उपभोक्तालाई सस्तो चाहिएको छ ।” पोख्रेलले अखाद्य महका कारण नेपाली किसान मारमा परेको बताउनुभयो ।

एक दशकअघिसम्म नेपालमा पूजा, तिथि श्राद्ध र सुत्केरीलाई खुवाउन मात्र महको प्रयोग हुन्थ्यो । अहिले प्रयोग बढेको छ । प्रयोग बढे पनि नेपाली उत्पादनले बजार पाउन सकेको छैन । पोख्रेलले प्रशस्त उत्पादन गरेर पनि व्यापारका लागि धेरै समय कुर्नु परिरहेको उल्लेख गर्नुभयो । व्यापार तथा निकासी प्रवर्धन केन्द्र विराटनगरका सूचना अधिकारी देवराज न्यौपानेका अनुसार चालु आव २०८१/८२ को छ महिनामा नेपालबाट दुई करोड ७३ लाख ७० हजार रुपियाँको चार हजार ४८६ किलो मह निर्यात भएको छ । यही अवधिमा भारतलगायत तेस्रो देशबाट पाँच करोड ७२ लाख ५३ हजार रुपियाँको दुई लाख चार हजार ७९४ किलो मह आयात भएको छ ।

केन्द्रको तथ्याङ्कमा उल्लेख भए अनुसार आयातित मह औसत प्रतिकिलो २७९ रुपियाँमा आउने गरेको छ भने नेपालबाट निर्यात हुने मह औसत छ हजार एक सय रुपियाँ किलो निर्यात भएको छ । नेपाली भिरमौरी, पुत्का, हिमाली मौरीको मह औषधीका रूपमा निर्यात हुने गरेको छ । यस्तै आव २०८०/८१ मा नेपालबाट पाँच करोड ७४ लाख ७५ हजार रुपियाँको १० हजार ८७९ किलो मह निर्यात भएको थियो । सोही वर्ष १७ करोड ६१ लख ७८ हजार रुपियाँको आठ लाख आठ हजार ४७१ किलो मह आयात भएको थियो ।

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार हाल महासङ्घमा सूचीकृत किसानबाट चार हजार ९४५ मेट्रिक टन मह उत्पादन हुन्छ । पछिल्ला केही वर्षयता नेपाली बजारमा छ हजार मेट्रिक टन मह खपत हुँदै आएको छ । नेपालमा एक हजारदेखि पन्ध्र सय मेट्रिक टन मह अपुग हुन्छ । उपभोक्ताले महको गुणस्तर र उपयोगका विषयमा नबुझ्दा नेपाली उत्पादन खेर जाने र अखाद्य मह बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “महमा स्वाद र रङको एकरूपता कहिल्यै हुन्न । मौसम अनुसार हरेक महिना फरक फरक हुन्छ । स्थान र भूगोल विशेषमा एउटै स्रोतको मह फरक स्वादमा उत्पादन हुन्छ ।”


आमउपभोक्ता भने एउटै रङ र स्वादको मह रोज्ने गर्छन् । प्रकृति अनुसार अलग अलग स्वाद र रङमा पाइने उत्पादनलाई बहुराष्ट्रिय कम्पनीले सदावहार रूपमा एउटै रङ र स्वादको बनाएर पठाइदिँदा नेपाली उत्पादनले बजार नपाएको घिमिरे बताउनुहुन्छ । देशमा प्रशस्त उत्पादन भएपछि विदेशबाट ब्रान्ड लागेर आउने महको आयात बन्द गर्नुपर्ने किसान बताउँछन् । मेलिफेरा मौरीपालन उत्पादक सहकारी संस्था लिमिटेड उर्लाबारीका अध्यक्ष बोधराज खतिवडाले भन्नुभयो, “सरकारले मौरीलाई चरन क्षेत्रको व्यवस्थापन गर्न सके मोरङका किसानले मात्र हरेक वर्ष १२र१३ करोड रुपियाँको मह निर्यात गर्न सक्ने थिए । निर्यातको यही अवस्था रहे हाल उत्पादित महले नै बजार नपाउने देखिन्छ ।” उर्लाबारीमा मात्र एक सयभन्दा बढी किसान महको व्यावसायिक उत्पादन गरिरहेका छन् ।