



गत सोमबार प्रधानमन्त्री ओलीको जीवनीमा आधारित पुस्तक ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र सङ्कल्प’ को लोकार्पण कार्यक्रममा प्रकाश सपुतले मन्तव्य दिएका थिए । मन्तव्यमा उनले ओलीको संघर्ष र व्यक्तित्वको प्रशंसा गरेपछि सामाजिक सञ्जालमा उनका समर्थक र आलोचकबीच तीव्र बहस सुरु भएको छ । कतिपय प्रयोगकर्ताले उनलाई कलाकारिताभन्दा राजनीतिमा लाग्न सुझाव दिएका छन् भने केहीले उनको करियर नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

यस घटनाले कलाकारहरूको राजनीतिक अभिव्यक्तिप्रति समाजको धारणाबारे गम्भीर प्रश्न खडा गरेको छ । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सबैका लागि समान भए पनि कलाकारहरूले राजनीति वा कुनै नेताको समर्थन वा आलोचना गर्दा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया व्यहोर्नुपरेको उदाहरणहरू विगतमा पनि देखिँदै आएको छ ।


समर्थक पक्षका अनुसार कलाकारहरू पनि नागरिक हुन्, जसले आफ्नो विचार व्यक्त गर्न पाउनुपर्छ । उनीहरूको अभिव्यक्तिलाई राजनीतिक झुकावका आधारमा मात्र व्याख्या गर्नु उचित होइन । तर, आलोचकहरूको तर्क छ कि चर्चित व्यक्तित्वको अभिव्यक्ति जनमानसमा ठूलो प्रभाव पार्ने भएकाले उनीहरूले राजनीतिक रूपमा तटस्थ रहनु उपयुक्त हुन्छ ।


यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू विभाजित देखिन्छन् । कतिपयले प्रकाश सपुतको प्रशंसा गरेका छन् भने केहीले उनको आसन्न चलचित्र ‘बसन्त’ बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् ।
यसरी कलाकारहरूले राजनीतिक धारणा राख्दा आउने तीव्र प्रतिक्रियाले अभिव्यक्ति स्वतन्त्रताको सीमारेखा को कहाँसम्म रहनुपर्ने भन्ने बहसलाई नयाँ उचाइ दिएको छ । यो बहस कलाकार मात्र नभई, आम नागरिक र अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित सबैका लागि विचारणीय विषय बनेको छ ।