Aamsanchar

खानेपानी मन्त्री प्रदीप यादवद्वारा आफ्नो निर्वाचन क्षेत्रमा नाला र ढल निर्माणको शिलान्यास

Author Image
आइतवार, जेठ ५, २०८२

पर्सा- पर्साको वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा नं. २१ को परवानीपुर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार ल्याउने र डुबानको समस्या हटाउने उद्देश्यले एक हजार २५६ मिटर लामो नाला निर्माणको शिलान्यास भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले आज आफ्नो निर्वाचन क्षेत्रभित्र नाला र ढल निर्माणको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ढल र नाला निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने डुबानको समस्या पूर्णरुपमा समाधान हुने र सवारी आवागमनमा समेत सहजता आउने बताए ।

‘नाला तथा ढल निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुन्छ र सडक व्यवस्थित हुने छ,’ उनले भने ।

मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको समेत बताए । उनले विकासको निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड समेत दिए । ‘खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य कामहरु भएका छन् । नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्णप्रतिबद्ध छ,’ उनले भने, ‘विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ ।’

शुद्ध खानेपानी वितरण, नाला तथा ढलान निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधाहरूलाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न समेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिए ।

वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार एक करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको नाला तथा ढल वडा नं १८ सुप्चैनादेखि वडा नं २१ परवानीपुरसम्म पुग्ने छ । यो एक हजार २५६ मिटर लामो हुनेछ ।

उक्त नाला तथा ढल निर्माण सम्पन्न भएपछि सहजरुपमा पानी निकास हुने र डुबानको समस्या हट्ने उनको भनाइ छ ।

 

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर