
काठमाडौं – फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा(एसइई) पनि सर्ने सम्भावना बढेको छ। यो वर्ष (२०८२)को एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुर्याउने देखिएको हो।
‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भदौ २७ मा अन्तरिम सरकार गठन भएपछि ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको थियो।

तदनुसार फागुन २१ गते निर्वाचन तोकिएको छ। यही निर्वाचनका लागि सरकार यतिखेर लागिरहेको छ। प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै आवश्यक तयारी भइरहेको बताउँदै आएकी छिन्। त्यसो त उक्त निर्वाचनले परीक्षामा असर पुग्ने देखियो।

मुख्य त मतपत्र र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने एउटै ठाउँ(सरकारको स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड) हुँदा प्रभाव पर्ने परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।


