झापा । तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ । प्रेस संगठन, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सम्वद्ध पत्रकारहरुको संगठन हो ।
कोषको सदस्य बनेका पत्रकारहरु कुनै पनि कारणले बिरामी भई उपचार गर्नु परेको अवस्थामा आर्थिक राहत पुर्याउने मनसायले यसको सञ्चालन गरिएको हो । कोषमा एक सयजना भन्दा बढी झापाका पत्रकारहरु आवद्ध छन् भने तीन लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ ।
कोष सञ्चालन समितिको हालैको बैठकले धर्मेन्द्र भट्टराई ‘मामा’, पुष्प बराल, प्रेम आचार्य र सुनिरा मैनालीलाई उपचार सहयोग प्रदान गर्ने निर्णय गरेको उपचार कोषका संयोजक गोपाल काफ्लेले जानकारी दिए । सोमबार उनीहरुलाई साझामञ्चको कार्यालयमा आमन्त्रण गरी रकम हस्तान्तरण गरिएको हो ।
पत्रकारहरुका दुई संगठनको एकीकरणका कारण विविध प्रक्रियाहरु पूरा गर्नु परेकाले अस्पतालमा उपचार गरिरहेकै अवस्थामा सहयोग रकम हस्तान्तरण गर्न असमर्थ भएको पनि कोषका संयोजक काफ्लेले बताएका छन् ।
उपचार कोषका पूर्व संयोजकसमेत रहेका भट्टराई पोखरा जानेक्रममा बस दूर्घटनामा परेर गम्भीर घाइते भएका थिए । यस्तै बराल र आचार्यको मोटरसाइकल दूर्घटनामा परेर खट्टा भाँचिएको थियो । मैनाली चाहिँ विशिष्ट व्यक्तिको सुरक्षामा पहरा बसेका प्रहरीको बन्दुक अचानक पड्किएर निस्किएको छर्रा लागेर घाइते भएकी थिइन् ।
उपचार कोषले यसअघि स्वर्गीय मदन ढकाल र मिर्गौलाको समस्या व्यहोरिरहेकी माया पकुवाललाई सहयोग हस्तान्तरण गरेको थियो ।
उपचार सहयोग कोषका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा गरिएको रकम हस्तान्तरण कार्यक्रममा जिल्ला संयोजक मुक्ति पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । संगठनका नेताहरु तीर्थ सिग्देल, माधव बिद्रोही, पार्टीका जिल्ला प्रचार विभाग सहसंयोजक सन्तोष आचार्य र पत्रकार महासंघका उपाध्यक्ष भीमा शिवाकोटीले कोषको महत्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन प्रदिप परियारले गरेका हुन् ।
यसैबीच, प्रेस संगठन झापाले आफ्ना सदस्य पत्रकारहरुका लागि तयार गरेको ‘प्रेस ज्याकेट’ आजैदेखि हस्तान्तरण सुरु गरेको छ । संगठनका केन्द्रीय सदस्य तीर्थ सिग्देल, जिल्ला संयोजक मुक्ति पौडेल, नेकपा झापाका जिल्ला सदस्य तथा अग्रज पत्रकार माधव बिद्रोही, प्रचार विभाग सहसंयोजक सन्तोष आचार्य, संगठनका प्रदेश सदस्यहरु गोपाल काफ्ले, प्रेम आचार्यलगायतले सामुहिकरुपमा यसको प्रयोग सुरु गरेका हुन् ।