चारपाने। सामाजिक रुपान्तरण र विकासका लागि मुलुकमै ख्याति कमाएको गैरसरकारी संस्था सहारा नेपालको नेतृत्व चयन भएको छ ।
२३औं बार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः भरतकुमार गिरी संस्थाको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संस्थाको स्थापनाकालदेखि सक्रिय गिरी लगातार चौथो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा सोमनाथ तिम्सिना चयन भएका छन् भने सचिवमा महेन्द्रकुमार गिरी चयन भएका छन् । गिरी संस्थाको प्रमुख कार्यकारी निर्देशक समेत हुन् ।
त्यस्तै सहसचिवमा लालबहादुर गिरी र कोषाध्यक्षमा श्यामकुमार प्रधान चयन भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा फणिन्द्र भण्डारी, प्रेमप्रसाद उप्रेती, पुनम बोहोरा सुवेदी, वेनुराज सुवेदी, हेमराज गिरी र कमला थपलिया चयन भएका छन् । त्यस्तै अनुगमन समिति संयोजकमा दुर्गा भण्डारी, सूचना सञ्चार संयोजकमा लेखनाथ खनाल, लेखा संयोजक कृष्णकुमार गिरी तथा सदस्यहरुमा युवराज निरौला र नरबहादुर गिरी चयन भएका छन् । नेतृत्व चयन केही अघि नै सम्पन्न भए पनि सोमवार भौतिक दुरी तथा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै नेतृत्वको पद हस्तान्तरण तथा शपथ ग्रहण सम्पन्न भएको छ ।
पञ्चकन्यास्थित भएको कार्यक्रमकाबीच संस्थाका संरक्षक डिल्ली सिटौलाले शपथ ग्रहण गराएका थिए । सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा अर्का संरक्षक छविलाल खतिवडा, सहारा नेपाल साकोसका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष भरतकुमार गिरीले स्वीकारोक्ति मन्तव्य राखेका थिए भने सचिव महेन्द्रकुमार गिरीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन तथा घोषणा निर्वाचन समिति सदस्य मातृका सुवेदीले गरेका थिए । अधिवक्ता दीपेन्द्र भट्टराईको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा नेतृत्व चयनमा सहजीकरण गरेको थियो ।