झापा । झापाको कनकाई नदिमा अहिले सम्मकै ठुलो माछा फेला परेको छ । झापा गाउँपालिका वडा नं. २ स्थित कनकाई नदीमा स्थानिय अशोक मुखियाले २५ केजीको माछा भेटेका हुन्। उनले त्यो माछालाई काटेर प्रतिकेजी एकहजारका दरले बिक्री गरेका छन् ।
खोलामा भेटिएको सो माछो मोटरसाइकलको पछाडिको सिटमा लोड गरेर बजारमा बेच्न लैजाँदा हेर्नेको भीड उर्लिएको थियो । मुखिया सँधै झैँ जाल बोकेर माछा मार्न जानेक्रममा सोमबार कनकाई नदीमा उक्त माछालाई जालमा पार्न सफल भएका थिए ।
एउटै माछाको मासु २५ हजार रुपैयाँको भएपछि मछुवा अशोक र उनको परिवार दङ्ग भएको छ ।
अहिलेसम्मकै ठुलो माछो
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले स्थानीय क्षेत्रमा यति ठूलो माछा आफुले पहिलोपल्ट देखेको बताएका छन् ।
उनले स्थानीय ‘गोपा खाडी’ को सिमसारमा यत्रो माछा रहेको हुनसक्ने र हालैको बाढीमा सिमसारबाट हेलिएर त्यो माछो माई नदीमा पुगेको दावी गरे । उनले भेटिएको माछो बगाहा जातको भएको बताए ।
गोपा खाडी र नदी जोडिएको जनाउँदै अध्यक्ष साहले बाढीका बेला खाडीबाट बाहिर निस्किएको बगाहा माछो अहिले फेला परेको हुनसक्ने बताए ।
खाडी ५० फिट गहिरो भएको उनले जानकारी दिए । सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुहरुले सोचाइ बनाइरहेको उनले बताए ।