झापा । समुदायमा जतात्यतै कोरोना संक्रमितहरु भेटिन थालेको अवस्थामा झापाको कनकाई को एक घरमा एक घरमा नराम्ररी फैलिएको छ । कनकाई ३ को एक घरमा घरका सबै सदस्य १० जनामानै कोरोना संक्रमण फैलिएको छ । त्यस्तै छिमेकी १ जनामा पनि कोरोना पुष्टि भएको छ । एक्कै घरमा यत्रो सङ्ख्यामा कोरोना भेटिएको सम्भवत झापामै पहिलो घटना भएको कनकाई नगरपालिका कोरोना सूचना तथा संचार समितिका सदस्य लक्ष्मी अधिकारीले बताउनुभयो ।
उक्त घरमा १४ बर्षको नातीदेखि ८४ बर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । उक्त घरमा मात्रै नभएर कनकाई ३ को गाउँमा नै कोरोना संक्रमण फैलिएको छ । कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने हालपनि पछिल्लोचोटी दुई दिनसम्म लगिएको स्वाबको रिपोर्ट आउन बाकी छ ।
हाल कनकाई नगरपालिकाको सबै स्वाब कोटीहोमस्थित पिसिआर मेशिनमा चेक गरिएको कारण रिपोर्ट आउन ढिलाई भएको हो । कनकाईमै चेक गरे पनि त्यसलाई पुनः चेकका लागि स्वाब धरान पनि पठाउनुपर्ने हुँदा परीक्षणको रिपोर्ट आउन ढिलाई भइरहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । रिपोर्ट आउन ढिलाई भए पनि स्वाब लिइएकाहरुलाई घरमै सुरक्षित राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।