वितेको एकवर्षअघिदेखि नोवल कोरोना भाइरस कोभिड–१९ को कारण विश्व थला परेको छ । विश्वका कलकारखना, उद्योग, शैक्षिक, प्रतिष्ठान सवै खाले व्यपार व्यवसाय ठप्प छन् । यसैका कारण लाखौं सर्वसाधारणले ज्यान गुमाईसकेका छन् । यसबाट संक्रमित भएर विभिन्न अस्पतालका बेडमा जीवनमरनसँग पौडीजोरी खेल्नेको संख्या पनि कम छैन् । अथवा अहिले कोभिडका कारण विश्व बन्दाबन्दी लकडाउनको अवस्थामा छ ।
यो पीडाबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन् । हजारौको ज्यान गईसक्यो । संक्रमितको संख्या पनि उत्तिकै ,यसको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । उपचारको लागि अस्पताल पुगेको एउटा सर्वसाधारण अस्पतालमा वेड नपाएर अलपत्र परेको छ । अक्सिजन अभावमा मृत्युबरण गरिरहेको छ । वा औषधि नै नपाएर उ मर्न बाँध्य छ । कोभिडको पीडाले उस्लाई जति पोल्छ त्यो भन्दा बढी अस्पतालमा उपचार नपाएर मर्नु परेको पीडाले उस्लाई र उस्को परिवारलाई पोली रहेको छ ।
सरकार भने ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर ’भन्ने उखान चरितार्थ गर्न तल्लिन छ । वा मेरो देशको सरकार एउटा कोभिड विरामीको उपचारमा होईन, उस्लाई कसरी बचाउँ भन्नेतर्फ नभएर सरकार गठन र सत्ताको बागडोर कसरी समात्न पाईन्छ भनेर लागेको छ । सरकारले यस्तो बेला कुरा किन नबुझेको ? अहिले सत्ता हुत्याउनका लागि अनेक खालका बखेडा निकालेर अल्मिलिनु हुदैंन यो बेला आफ्नो देशका नागरिक बचाउन लाग्नुपर्छ भनेर । नेपाली जनता अस्पतालमा उपचारका लागि वेड, औषधि र अक्सिजन खोजी रहेका छन् । तर, यो देशका राजनीतिक दल र तीनका नेताहरु सरकार, प्रधानमन्त्री र कुर्सी खोजी रहेका छन् । यस्तो सरकार र राजनीतिक दलबाट आम नेपाली जनताले के अपेक्षा गर्ने ? प्रधानमन्नी केपी शर्मा ओली नेतृत्वको सरकार र यो देशका राजनीतिक दलहरुले ले एउटा कुरा बुझ्न जरुरी छ ।
त्यो के हो भने अहिले नेपाली जनताले सरकार र कुर्सीका लागि अवसर खोजी रहेका छैनन्, अवसर होईन अक्सिजन, सत्ता लडाउने खेल नभएर कोभिडलाई परास्त गर्ने शक्ति खोजी रहेका छन् । यसतर्फ नेपाल सरकार, यो देशका राजनीतिक दल र तीनका नेताहरु गम्भीर बन्नु पर्छ कि पदैंन ? नत्र यसको हिसाव किताव नेपाली जनताले राखेका छन् । चुनावका बखत यो देशका राजनीतिक दल र तीनका नेताहरुको भाग्य र भविष्यको निर्धारण ती नै जनताले नै गर्छन् भन्ने हेक्का अब पनि नराख्ने हो भने तपाईहरु कता जादैहुनुहुन्छ ? गम्भीर बन्ने कि नबन्ने ? समय ढिला भइसक्यो ।
झण्डै झण्डै दुईतिहाईको नजीक पुगेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको हविगत सवैले देखे । जनता अक्सिजन औषधि र अस्पतालमा वेड नपाएर सडक पेटीमै मर्न बाँध्य भइरहेका बखत यो देशका टाउके वा पछिल्लो नेपालको राष्ट्रिय राजनीतिकका कारण नेपालीहरु भनिरहेका छन ‘राजनीतिक भनेको फोहोरी खेल हो भन्थे हो रहेछ ।’ यो देशका नेताहरुमा थोरै त अक्कल हुनुपर्ने हो नि अहिलेको अवस्था देशमा सरकार गठन र कुर्सीको खिचातानीमा लडाई नगरी नेपाली जनताको जीवन बचाउँन लाग्नुपर्छ भन्ने । जस्ले उनीहरुलाई मतदान गरेर कुर्सीमा पुर्याए, नामको पछाडी फूर्काे झुण्ड्याउने हैसियतको बनाए उनीहरुले आफ्नो कर्तव्य विर्सेर आज नेपाली जनताको टाउँकोमा टेकेर पछाडीबाट हान्ने काम भइरहेको छ । नत्र किन यो सरकार र दल अनि दलका नेता नेपाली जनताप्रति जिम्मेवार बन्दैनन् । यस्तो गैरजिम्मेवार बन्ने अधिकार उनीहरुलाई कस्ले दियो ? यसको मूल्याङ्कन नेपाली जनताले समय आएका बखत अवश्य गर्नेछन् ।
गरीब निमुखा जनताहरु दैनिक खाना, नाना र छानाको लागि संघर्षशील छन् भने स्वास्थय उपचार सरल र सहज नहुँदा बचाउन सकिने आफ्ना मान्छेहरु समेत मरिरहेको टुलुटुलु हेर्न बाध्य छन् । तर यो देशको सरकार, दल र दलका नेता सत्ताका लागि संघर्ष गरिरहेका छन् । यस्तो महामारीको वेला सरकारले नेपाली जनताको जीउधनको सुरक्षा गर्नुको साटो एकले अर्कालाई गाली गलेका भाषा भनेर भनि सक्नु छैन् ।
संकटको बेला राष्ट्रका हरेक नागरिकले आफूले सकेको योगदान कोभिड–१९ को नियन्त्रणमा पु¥याउनु पर्ने अवस्था एकातिर छ भने अर्कातिर यो देशमा काम चलाउ सरकार छ । समस्यामा परेको बेला जनताको सबैभन्दा आशाको केन्द्र र भरोसा अभिभावक सरकार हो । तर आम नेपाली जनता अहिले अभिभावक विहिन झै छन् । अभिभावक खोजीरहेका छन् । निजी स्वार्थकालागि अघि बढ्ने यस्ता जनप्रतिनिधिहरुबाट नेपाली जनताहरुले कहिलेसम्म दुःख पाईरहने छ । ‘समृद्घ नेपाल सुखी नेपाली’को नारा त अघि सारियो । तर, नारा व्यवहारमा होइन कागतमै सिमीत हुन सम्भावना पनि उत्तिकै छ ।
जबसम्म देशमा स्थिर सरकार हुँदैन तबसम्म देश विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्दैन भन्दा खासै अत्यूक्ति नहोला ? अहिले हामीले हाम्रो व्यवस्थाप्रति गम्भीर हुने बेला आएको छ । अहिले गंभिर भएर विश्लेषण गर्नुपर्ने बेला आएको छ । अहिले व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावन ज्यादैं न्यून भएको कारण हामीले यही व्यवस्थामा रहेर स्थिर सरकारको परिकल्पना गर्ने अवस्था छ त ? चौतर्फी प्रश्न तेर्सीएको छ ।
अव हामीले संसदीय व्यवस्थाको विकल्प खोज्ने वा सुधारिएको संसदीय व्यवस्था ल्याउने जमर्को गर्नुपर्ने देखिन्छ र मात्र देशमा स्थायी दिगो सरकार बन्न सक्ने अवस्था महशुस गर्न थालिएको छ ।
त्यसको विकल्पमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री भएको व्यवस्था तर्फ सोच्न ढिला भइसकेको छ । यदि संसदीय व्यवस्था नै राख्ने हो भने पनि सांसदहरुको भूमिकालाई मात्र देशको कानुन र नीति निर्माणमा सिमित गर्ने र विज्ञहरुको टोली वा समूहलाई मन्त्री बनाएर काम गर्ने व्यवस्था गर्नसक्नु पर्दछ । संविधानमै स्थिर सरकारको लागि अविश्वासको प्रस्ताव कम्तिमा पनि सरकारको कार्यकाल भरी पेश गर्न नसक्ने व्यवस्था मिलाउनु पर्छ ।
सरकारले जनआकांक्षा बमोजिम काम नगरे राष्ट्रपति वा प्रधानमन्त्रीलाई महा अभियोग लगाएर पदबाट हटाउन सक्ने व्यवस्था भने गर्न सकिन्छ । यदि हामीले स्थिर सरकार दिन सकेनौं भने सरकारले विकास निर्माण र राष्ट्रको र जनताको जीवनस्तर उकास्न कुनै पनि काम गर्न सक्दैन भन्ने विगतमा सरकार बनाउने र गिराउने खेलले समेत पुष्टि गरिसकेको छ । अहिलेको महामारी सँग जुध्न देश एक ढिक्का हुनुपर्नेमा देशका राजनीतिक दलहरु सरकार गिराउने र गठन गर्ने दाउपेचमा लाग्नाले जनताले अत्याधिक सास्ती भोग्नुपरेको छ । अतः अहिलेको अवस्थामा सम्पूर्णदलहरु गणितीय जोड घटाउ र एकले अर्काको पार्टी फूटाउने र तहस नहस पार्ने काममा समय खेर फाल्नु हुदैंन भन्ने मेरो बुझाई हो ।
राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र अहिलेका पहिलो पुस्ताका सबै नेताहरुलाई विदाइ गरी दोस्रो पुस्ताबाट प्रधानमन्त्री बनाइ नयाँ सरकार गठन गर्नतिर दलहरु मिल्न आवश्यक छ । यदि नेताहरुले त्यस तर्फ ध्यान नदिने हो भने चुनाव आउँन धेरै समय बाँकी छैन ।
(लुइटेल काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक प्राध्यपक हुनुहुन्छ)