अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले होम आइशोलेशनमा बस्दा कठिनाइहरुलाई तथा सामान्य लक्षण भएका कोभिड संक्रमितहरुका लागि अर्जुनधारा ३ सिमलचौर स्थित भवनमा सेल्फ प्रि आइशोलेशन केन्द्रमा व्यवस्थापन गरिने बैठकले निर्णय गरेको छ ।
नगरको कोभिड संकट व्यवस्थापन कमिटि ( सीसीएमसी ) को आज बसेको बैठकले यहि १० गतेबाट त्यहां आवश्यक स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मी खटाएर बिरामीलाई उपचार प्रदान गरिने जनाएको छ ।
साथै कोभिड संक्रमितको घर तथा संस्थाको वातावरणीय सरसफाइ तथा निसंक्रमण गर्ने कार्यमा नगरबाट फोहोरमैला तथा सरसफाई कार्यका लागि कर्मचारीहरुलाइ आवश्यक सहजीकरण गर्न नगर ⁄ वडा समितीले टोल विकास समितीहरुलाई परिचालन गरिने समेत बैठकले निर्णय गरेको छ ।
त्यस्तै कोभिड १९ संक्रमित सँग प्रत्यक्ष सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्तिहरुलाई पीसीआर परीक्षणका लागि सहज वातावरण बनाउने तथा पीसीआर परिक्षणको व्यवस्था मिलाउन नगरप्रमुखले सबै वडाध्यक्ष समक्ष अनुरोध गर्ने र वडाले आवश्यक समन्वय गर्ने समेत बताइएको छ ।
नगरपालिकाले नगरको स्वास्थ्य चौकीमा अक्सिजन सहितको कोभिड आइशोलेशन केन्द्र निमार्ण कार्य धमाधम भइरहेको जनाएको छ । साथै अबको केहि दिनमै उक्त आइशोेलेसन सञ्चालनमा ल्याइने र आवश्यक अक्सिजनको व्यवस्थापन भइरहेको बताइएको छ ।
त्यस्तै दैनिक उपभोग्य अत्यावश्यक खाद्य बस्तु, तरकारी तथा निर्माण सामग्रीको आपुर्तीको व्यवस्था जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार नै गरिने नगरले जनाएको छ ।
नगरप्रमुख हरिकुमार रानाको अध्यक्षतामा सम्पन्न बैठकमा नगरको अहिले सम्मको कोभिडको अवस्था र स्वास्थ्य शाखाले नियन्त्रणमा खेलेको कार्यको विवरण नगर कोभिड फोकल पर्सन मुकुन्द वस्नेतले प्रस्तुत गरेका थिए । नगरमा अहिले सम्म ३ सय ३१ जनामा केरोना संक्रमण पुष्टि भइसकेको छ ।