विराटनगर । चार महिने बालकको उपचारका क्रममा मृत्यु भएपछि कोसी अस्पतालको अवस्था तनावग्रस्त बनेको छ । उपचारका क्रममा चार महिने बालक आरभ चौधरीको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि कोसी अस्पताल तनावग्रस्त बनेको हो ।
शुक्रबार बिहान सामान्य रुघाखोकी लागेको अवस्थामा बालकलाई उपचारमा ल्याएको आफन्तको भनाइ छ । तर डाक्टरको लापर्बाहीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएका आफन्तले इमरजेन्सी कक्षअगाडि तोडफोडसमेत गरेका छन् । सिकारु डाक्टरलाई बालकको उपचार गर्न दिएका कारण मृत्यु भएको आफन्तले बताए । मृतक बालककी आफन्तले भनिन्, ‘बाबु हासिँरहेको थियो, बोलिरहेको थियो, सामान्य सर्दी लागेर अस्पताल ल्याएको थियो, खासै केही भएको थिएन, यो डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको हो ।’
अहिले अस्पतालमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यता, अस्पताल प्रशासनले भने मृतक बालकका आफन्त र उपचारमा संलग्न डाक्टरलाई राखेर छलफल भइरहेको बताएको छ ।