

विराटनगर – आसन्न निर्वाचनका लागि मोरङमा ४९ युवाको उमेदवारी परेको छ । ४० वर्षभन्दा कम उमेर समूहबाट उमेदवारी दिएका मध्ये स्वतन्त्र र साना दलका व्यक्ति धेरै छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका अनुसार मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ निर्वाचन क्षेत्रका लागि कुल २१५ जनाको उमेदवारी परेको छ ।
युवा उमेदवारको संख्या करिब १९ प्रतिशत मात्र छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङमा ४० वर्षमाथिका उमेदवारको संख्या धेरै छ ।

स्वतन्त्र रूपमा ६९ जनाले उमेदवारी दिएका छन् । तीमध्ये युवा धेरै छन् । राजनीतिक दलबाट टिकट नपाएकाहरूले समेत स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराएका छन् ।
उमेदवारी दिएका मध्ये ७० वर्षमाथिका तीनजना छन् । प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नम्बर–६ बाट उमेदवार बनेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ७२ वर्षका छन् ।
यस्तै, प्रदेशसभातर्फ मोरङ–६ ‘ख’बाट उमेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद गुप्ता ७८ वर्षका छन् ।
प्रतिनिधिसभातर्फ मोरङ–५ बाट उमेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रेवतबहादुर थापा ७६ वर्षका छन् । प्रतिनिधिसभातर्फ मोरङमा ३० वर्षभन्दा कम उमेदवारको संख्या नौ छ ।

