चार हजार छ सय मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा सञ्चालन हुन नसक्ने भएको हो। चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारी प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान हिल्सामा आयात भएको थियो।
हिमपातले सडक बन्द भएपछि उक्त सामान हिल्सामै रोकिएको छ। सडक बन्द भएपछि सामानका साथै व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आउजाउमा समस्या भएको छ। अब सो क्षेत्रको हिमपात डोजरले नपन्छाएसम्म यातायात सेवा सञ्चालन हुने छैन।
सिमकोटमा पहिलो हिमपात
उत्तरी नाम्खा गाउँपालिकामा तेस्रो पटक हिमपात भए पनि सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा भने पहिलो पटक हिमपात शुक्रबार, शनिबार पर्दा समस्य भएको छ ।
सुरुमा परेको हिउँ बिलाउने गरेको भए पनि यतिबेला भने एक फिटभन्दा बढी हिउँ जमिनमा जमेको छ। हिमपातले चिसो अत्यधिक बढेको छ भने दुई दिनदेखि हवाई सेवा बन्द छ। यस वर्षको पहिलो हिमपात भएका कारण स्थानीयमा भने खुसी ल्याएको छ।