Aamsanchar

उनी  ( समृति कविता )

Author Image
बुधवार, पौष ३, २०८१

अठार पारको  हुँदा  अथाह तिर्सना थियो
छचल्किँदो मिठो मिठो अगाध वासना थियो
म भित्र खुल्दुली घुमी त्यसै सताउँदै थियो
वसन्त रागले चुमी कता कता छुँदै थियो

म टाकुरो थिएँ   उनी भरी  तलाउ नै थिइन्
म प्यासमा हुँदा उनी नदी प्रवाह झैँ थिइन्
मुसुक्क मुस्कुराउँदै कटाक्षले नियाल्दथिन्
सुदूरबाट झस्किँदै र जिस्किँदै पगाल्दाथिन्

पहाडकी चरी थिइन् कि स्वर्गकी परी थिइन्
वसन्त वल्लरी थिइन् कि ग्रीष्मकी झरी थिइन्
सुलक्षणा र व्यञ्जना मिठास माधुरी थिइन्
असीम चातुरी थिइन् विलक्षणा धुरी  थिइन्

उडेर  आउने चरी  समीपमा बसेसरि
मिठो मिठो चिरिबिरी सुदूरमा पुगेसरि
झुलुक्क झुल्किई कहाँ  पुगिसकेछ त्यो चरी
म कल्पना गरिरहेँ  यथार्थ बन्छ के गरी ?

चरी  पहाडमा उडी  चरो मधेश  फाँटमा
उडेर उत्रियूँ  भयो , नि सुन्तला बगानमा
चुरे चुली त्यहीँ रह्यो र जिन्दगी गुडिरह्यो
भुवा समान भावना सधैं सधैं उडिरह्यो

चिनारुले सुनाउँदा म हाल चाल पाउँथेँ
यदाकदा नबिर्सिऊँ  भनेर गीत  गाउँथेँ
अतीतको प्रतीति हो कदापि भेट्न सक्दिन
मिलापका विलापका कथा म मेट्न सक्दिन

पचास छेउमा अहा ! रमेर नाच्दछिन् उनी
अठार वर्षझैँ अझै मुसुक्क हाँस्दछिन् उनी
नसोध को थिइन् तिनी लिएर चित्त तर्किइन्
तथापि टिक्कटाकमा चलाखीसाथ फर्किइन् ।

लक्ष्मीप्रसाद रिजाल

अर्जुनधारा-८, झापा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर