Aamsanchar

प्रलेस प्रतिभा पुरस्कारबाट झमक घिमिरे सम्मानित

Author Image
आइतवार, पौष १४, २०८१

धनकुटा – प्रगतिशील लेखक संघले प्रख्यात साहित्यकार झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ। धनकुटा नगरपालिका वडा नं६ कचिडेस्थित घिमिरे निवासमा आइतवार आयोजित कार्यक्रममा घिमिरेलाई सम्मान प्रदान गरिएको हो।

घिमिरेले नेपाली साहित्य र नेपाली प्रगतिशील वाङमयको उन्नयनमा पुर्‍याएको योगदानको कदर गर्दै प्रगतिशील लेखक संघले नगद २० हजार १ सय रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेको हो।

घिमिरेको ‘जीवन काँडा कि फूल’ लगायतका कृतिहरूले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। घिमिरेको ‘जीवन काँडा कि फूल’ नामक कृतिले २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।

उनको कृति ‘जीवन काँडा कि फूल’ उनकै जीवनको संघर्षपूर्ण कथा रहेको छ। जन्मजात अपांगता रहेकी घिमिरे खुट्टाको औँलाको सहायता लेख्ने गरेकी छन्। उनको ‘जीवन काँडा कि फूल’ पुस्तक विभिन्न भाषाहरूमा अनुवाद भएको छ र यसले धेरै पाठकहरूलाई प्रेरणा दिएको छ।

उनका अन्य कृतिहरूमा कविता र निबन्धहरू पनि छन्। उनको लेखनले विशेषगरी अपांगता भएका व्यक्तिहरू, महिलाहरूको अधिकार र सशक्तीकरणको विषयलाई उठान गरेको प्रगतिशील लेखक संघका केन्द्रीय महासचिव देवी क्षेत्री दुलालले बताए। उनलाई यसअघि विभिन्न संघसंस्थाहरूले सम्मान र पुरस्कारहरूले सम्मानित गरिसकेका छन्।

घिमिरेलाई प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष नमुना शर्मा र झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाइँले सम्मानपत्र, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले नगद र धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनालले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर