
दमक। सरकारका बेतुकका योजना, कर्मचारीतन्त्रको लोभ, र जनताको उपेक्षा—यिनै विषयमा व्यङ्ग्य हान्दै झापाको दमकमा ‘आयोजना नम्बर १६०’ नामक नाटक मञ्चन भइरहेको छ।

कदम थिएटरले आफ्नै मञ्च पाइवाइला हिममा ५ असारदेखि नियमित रुपमा प्रस्तुत गरिरहेको यो नाटक १५ असारसम्म जारी रहनेछ। प्रत्येक दिन साँझ ५ः१५ बजे नाटक मञ्चन हुने जानकारी थिएटरका कला निर्देशक सिजन दाहालले दिए।

भारतीय नाटककार अजय शुक्लाको चर्चित हिन्दी नाटक ‘ताजमहलका टेन्डर’ लाई नेपाली परिवेशमा ढाल्दै नवीन भण्डारीले रूपान्तरण गरेका छन्। सिजन दाहालका अनुसार, “यो नाटक सरकारको हचुवामै आउने योजनाहरु, लापरवाही, र कर्मचारीतन्त्रको अनियमिततालाई हास्य शैलीमा उजागर गर्छ।”

पूर्णतः कमेडीमा आधारित यो नाटकले सत्ता, सुशासन, र स्थानीय तहका व्यवहारमाथि गहिरो प्रश्न उठाएको छ। अभिनयमा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेल छन्। नाटकको निर्देशन पनि यिनै कलाकारले सामूहिक रुपमा गरेका छन्। लाइट संयोजनमा आयुष भण्डारीको काम उल्लेखनीय छ।


कदम थिएटरले स्थानीय दर्शकलाई सामाजिक यथार्थ र व्यङ्ग्यको समिश्रणमा तयार पारिएका नाटकमार्फत निरन्तर संलग्न गराउँदै आएको छ। ‘आयोजना नम्बर १६०’ पनि त्यसको एक प्रभावशाली उदाहरण बनेको छ।

