Aamsanchar

गणेश पौडेलको नेतृत्वमा युवा उद्यमशीलता प्रवर्द्धनको नयाँ यात्रा

Author Image
शनिवार, असार २१, २०८२

बिर्तामोड ।
नेपालमा उद्यमशीलता र स्वरोजगारको चेतना बढ्दै गएको सन्दर्भमा युवाहरूको सशक्त संगठन “नेपाली युवा उद्यमी मञ्च (NYEF)” झापा शाखाले नेतृत्व परिवर्तन गरेको छ। मञ्चको दोस्रो अधिवेशनले बिर्तामोडका युवा व्यवसायी गणेश पौडेललाई नयाँ अध्यक्षको जिम्मेवारी दिएको हो।

अध्यक्षमा चयन भएका पौडेल यसअघि संस्थापक द्वितीय उपाध्यक्ष तथा हालैसम्म प्रथम उपाध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए। उनले अब एक वर्षको कार्यकाल नेतृत्व गर्नेछन्।

युवा नेतृत्वको यही निरन्तरताले मञ्चको गम्भीर उद्देश्यलाई अघि बढाउने विश्वास गरिएको छ। संस्थाका अन्य पदाधिकारीहरूमा मिजास पोखरेल (प्रथम उपाध्यक्ष तथा सचिव), सुरज चौधरी (द्वितीय उपाध्यक्ष तथा कोषाध्यक्ष) रहेका छन्।

त्यस्तै, कार्यकारिणी सदस्यहरूमा आयुष बजगाईं, आशिष शर्मा, उत्सव उप्रेती, विकास अग्रवाल, मनिष साहेवाला, विशाल बिमली, समाली मैनाली, निरज चौधरी र अजित ढुङ्गाना रहेका छन्।

उक्त कार्यक्रम मञ्चका निवर्तमान अध्यक्ष डा. रुपेशजंग बेलबासेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थापक अध्यक्ष तथा निर्वाचन अधिकृत प्रवेश बस्नेतले नयाँ कार्यसमितिको घोषणा गरेका थिए।

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दीपक नेपाल, बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष राजु न्यौपाने, महिला उद्यमी संघ नेपाल झापा अध्यक्ष शर्मिला अधिकारी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति र शुभकामना वक्तव्यले कार्यक्रमलाई विशेष बनाएको थियो।

मञ्चको उदेश्य र विस्तार
विगत दुई वर्षअघि झापामा स्थापना भएको NYEF झापा अहिले ५० जना सक्रिय युवा उद्यमीहरूलाई संगठित गर्दै अघि बढेको छ। राष्ट्रिय रूपमा सन् २००३ मा स्थापना भएको मञ्च अहिले १४ वटा शाखासहित देशभरि फैलिएको छ। झापा मञ्च यसका १२औं शाखा हो।

मञ्च नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने, नवप्रवेशी व्यवसायीहरूलाई तालिम, सञ्जाल विस्तार, तथा लगानीका अवसरहरू प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको हो। मञ्चले सार्क युवा उद्यमी मञ्च, विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्यका साथै कमनवेल्थ एसिया एलाइन्स अफ योङ एन्टरप्रेनर्सको पर्यवेक्षक सदस्यका रूपमा पनि भूमिका निभाइरहेको छ।

२०–४० वर्षे उमेर समूहलाई प्रोत्साहन
उद्यमशीलता र नेतृत्वमा युवाहरूको सहभागिता बढाउने उद्देश्यले २० देखि ४० वर्ष उमेर समूहका व्यवसायीहरूलाई मञ्चमा आबद्ध गरिने प्रावधान छ। यो उमेर समूहलाई लक्षित गर्दै मञ्चले व्यवसायिक प्रशिक्षण, मार्केटिङ सञ्जाल, नीति सम्वाद, र प्राविधिक सहायताजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

नव नियुक्त अध्यक्ष गणेश पौडेलले “स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै युवा उद्यमशीलतालाई सशक्त बनाउने अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने” प्रतिबद्धता व्यक्त गरे।

सहभागितामूलक कार्यक्रम
अध्यक्ष बेलबासेले स्वागत गरेको कार्यक्रम मञ्चका सदस्य कुशल खतिवडाले सञ्चालन गरेका थिए।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर