

पोखरा – पोखरा महानगरपालिकाले उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ ।

महानगरको ६७औँ स्थापना दिवसको अवसरमा नवरत्न सम्मान गरेको हो । सम्मानित हुनेमा गायक तथा सङ्गीतकार अमृत गुरुङ सहितका श्रष्टा छन् । नेपथ्य ब्याण्डसँग आबद्ध भएर गुरुङले दर्जनौँ गीतमा स्वर दिएका छन् ।
पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार समेत रहेका उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु पनि सम्मानित भएका छन् ।यस्तै, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य क्षेत्रबाट सम्मान गरिएको छ भने खेलकुद क्षेत्रबाट वीरेन्द्रसिंह गुरु, उद्यमशीलताबाट रामकली खड्का र उद्योगबाटै हरि पाण्डेलाई सम्मान गरिएको छ ।

उनीहरूलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।
महानगरको उन्नयनमा योगदान गरेबापत महानगरले तेस्रो पटक नवरत्न सम्मान गरेको हो । यसअघि २०५५ र २०५९ सालमा पनि सम्मान गरिएको थियो । २०७२ सालमा तीन जनालाई पोखरा रत्नसम्मान गरिएको थियो ।
अहिलेको सम्मानका लागि महानगरले छुट्टै कार्यविधि तयार गरेको थियो । पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मात्रै सम्मान गर्ने कार्यविधिमा व्यवस्था थियो ।
यसबाहेक फौजदारी अभियोगमा कसुरदार नठहरिएको, उच्च नैतिक चरित्र भएको, पोखरामा बसोबास गरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिभा प्रदर्शन गरेर पोखराको पहिचान अभिवृद्धि गरेको व्यक्तिलाई रत्न सम्मानका लागि छनोट गरिएको समितिका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हालसम्म ३० जनाले नवरत्न सम्मान प्राप्त गरेका छन् ।

