Aamsanchar

सैन्य कु पछि म्यान्मारमा आज पहिलो पटक आम निर्वाचन

Author Image
आइतवार, पौष १३, २०८२

काठमाडौ – सैन्य कु पछि म्यान्मारमा आज पहिलो पटक आम निर्वाचन सुरु भएको छ।

सन् २०२१ मा नोबेल पुरस्कार विजेता आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनको नेतृत्वमा यो विवादित निर्वाचन भइरहेको हो।

देशभरका ३ सय ३० मध्ये करिब एक तिहाइ क्षेत्रमा मात्र आज मतदान भइरहेको छ। गृहयुद्धका कारण ६५ वटा निर्वाचन क्षेत्रमा मतदान पूर्ण रूपमा रद्द गरिएको छ भने करिब २० प्रतिशत नागरिक मतदानको अधिकारबाट वञ्चित भएका छन्।

ठूला सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ र पहिलो पटक इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको छ। यद्यपि, संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले यो निर्वाचनलाई ‘एकतर्फी र निष्पक्ष नभएको’ भन्दै आलोचना गरेका छन्। सुकीको दल एनएलडीलाई विघटन गरिएको छ भने मतपत्रमा सैनिक निकट पार्टीहरूको मात्रै वर्चस्व देखिएको छ।

निर्वाचनमा युवाहरूको उपस्थिति नगन्य रहेको र केवल मध्यम उमेरका मानिसहरू मात्र देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सैन्य प्रमुख मिन आङ ह्लाइङले यो चुनावलाई शान्ति र आर्थिक सुधारको नयाँ सुरुवात भने पनि म्यान्मारका नागरिकहरू विभाजित देखिएका छन्।

सन् २०२१ को कु यता भएका हिंसामा परी ९० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्। निर्वाचनको अर्को चरण आगामी जनवरी ११ र २५ तारिखमा हुनेछ।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर