Aamsanchar

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज ओभर रन, सहचालकसहित ७ जना घाइते

Author Image
शनिवार, पौष १९, २०८२

झापा । झापाको सदरमुकाम स्थित भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको जहाज दुर्घटनामा सहचालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने सहचालकको उपचार जारी रहेको छ। काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर–७२ जहाज शुक्रबार राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा फसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।

उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय सहचालक सुशान्त श्रेष्ठसहित छ जना यात्रु घाइते भएका हुन्। घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन्। घाइतेहरूलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्काल भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पु¥याएको थियो।

टाउको र अनुहारमा चोट लागेका सहचालक सुशान्त श्रेष्ठको उपचार भइरहेको छ भने अन्य छ जना सामान्य उपचारपछि घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले बताए। उक्त जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौँबाट उडेको थियो। दुर्घटनापछि प्रहरी उपरीक्षक लिम्बुको नेतृत्वमा ७० जनाको टोली उद्धारमा खटिएको थियो। प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकालेर अस्पताल पु¥याएको जनाएको छ।

Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर