Aamsanchar

दुई पुरुष र एक महिलाको विभत्स हत्या भएको खुलासा

Author Image
शनिवार, पौष २६, २०८२

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ।

इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले ‘दुई जना पुरुष मृत अवस्थामा भेटिएका छन् भनी जानकारी गराएका थिए।

प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।

मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय नारायण विक भएको खुलेको छ।

उहाँ शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुनुहुन्छ। उहाँ यही महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गरिरहेका थिए भने तीन महिनादेखि सो केन्द्रमा कार्यरत थिए।

अर्का मृतक पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन। उनी पनि प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका व्यक्ति थिए।

दुई पुरुष मृत भेटिएपछि उनीहरूसँगै बस्दै आएकी एक महिला अचानक सम्पर्कविहीन भएपछि थप शङ्का उत्पन्न भएको थियो। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा शनिबार दिउँसो करिब १२ बजे ती महिला पनि मृत अवस्थामा फेला परेकी हुन्। महिलाको शव दुई पुरुष भेटिएको स्थानबाट करिब सात सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलमा फेला परेको थियो। महिला र पहिचान नखुलेका पुरुष दुवै जना बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमैला छानेर कवाडी संकलन गरी जीवनयापन गर्दै आएका र करिब एक वर्षदेखि त्यही टहरामा बस्दै आएको स्थानीयले बताएका छन्।

Views: 1700

प्रतिक्रिया (०)

सम्बन्धित खबर