Aamsanchar

फेरीबाट तार्दै गरेको बस सुनकोशी नदीमा डुब्यो

Author Image
आइतवार, माघ ४, २०८२

उदयपुर –  उदयपुर र भोजपुर जोड्ने फेरीबाट तार्दै गरेको बस सुनकोशी नदीमा डुबेको छ। स्थानीय स्रोतसाधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन बिग्रेर बस डुबेको हो । बस फेरी सञ्चालकहरु मध्येकै एक रत्न तामाङको हो।

चौदण्डीगढी नगरपालिका–१ का पूर्व वडाध्यक्ष रोहित तामाङका अनुसार ईटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको बा३ख ६३३९ नम्बरको बस सुनकोशीमा डुबेको हो। बससँगै डुबेका चालकको स्थानीयले सकुशल उद्धार गरेका छन् । बसबाट यात्रुहरु उतारेर तार्ने भएकाले मानवीय क्षति जोगिएको हो ।

फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने र त्यसमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत वारपार गरिँदै आएको छ। फेरी सञ्चालकहरुले बोलेरो तथा साना सवारी साधनको २ हजारसम्म र बस, ट्याक्टर र ठूला सवारी साधनको ४ हजारसम्म शुल्क लिने गरेको स्थानीयको भनाई छ।

उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीतारमा मोटरेबल पक्की पुल २०७४ सालमा सिलान्यास गरी निर्माण थालिएको एक दशक नाघिसक्दा पनि बनेको छैन । पुल नबनेपछि स्थानीय रत्न तामाङलगायतको एक समूहले करिब २५ लाख बराबरको लगानीमा फेरी निर्माण गरी सञ्चालन गर्दै आएको थियो । पुल नहुँदा सवारी साधन वारपार गर्न सोही फेरी प्रयोग गर्न स्थानीय बाध्य छन् ।

यात्रुवाहक बसहरुले भने वारि यात्रु झारेर झोलुङ्गे पुलबाट तार्ने र फेरीबाट बस तारेर यातायात सेवा दिँदै आएको स्थानीय अम्बेबर राईले जानकारी दिए। सुनकोशीमा यात्रुवाहक बस डुबेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात सुब्बाले स्थलगतरुपमा प्रहरी खटिएको जानकारी दिए ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर