Aamsanchar

निर्वाचन प्रहरीको छनोट शुरु हुँदै

Author Image
सोमवार, माघ ५, २०८२

काठमाडौँ –  निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको निर्वाचन प्रहरीको छनोट शुरु हुँदैछ। सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत मुलुकभर एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्दैछ।

निर्वाचन प्रहरीका लागि एक लाख ९६ हजार आवेदन परेका छन्। यद्यपि ३२ जिल्लामा मागेभन्दा कम आवेदन परेका छन् । पर्सि बुधबारसम्म छनोट सकेर मापदण्ड पुगेकालाई तालिममा पठाउने तयारी छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छनोट समिति बनाइएको छ ।

कम आवेदन परेका जिल्लामा अर्को जिल्लामा भर्ना गरिएका निर्वाचन प्रहरी पठाइनेछ। दुवै प्रहरीले गत २५ पुसबाट १ माघसम्मका लागि आवेदन खुला गरेका थिए । तर, मागभन्दा कम आवेदन परेपछि दुवै प्रहरीले ३ माघसम्मको म्याद थप गरेका थिए । थप भएको म्यादसम्म आवेदन भर्नेको संख्या एक लाख ९६ हजार ४७० पुगेको छ । जसमध्ये नेपाल प्रहरीमा मात्रै एक लाख ८१ हजार १७४ र सशस्त्रमा १५ हजार २९६ को आवेदन परेको छ।

नेपाल प्रहरीका अनुसार आवेदन कम पर्ने जिल्ला कोशी प्रदेशमा आठ, बागमतीमा छ, गण्डकीमा १०, लुम्बिनीमा चार, मधेश प्रदेशमा चार र सुदूरपश्चिम जिल्लामा चार छन्। आवेदन कम परेको जिल्लामा धेरै आवेदन परेको छिमेकी जिल्लाबाट लैजाने प्रहरीको तयारी छ।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर